लघुकथाः ठुलो एकादशी
- रमेशचन्द्र घिमिरे
'आज त ठुलो एकादशी, बिहान उठेर नुहाइ धुवाइ गर्नुपर्छ छोरा, उठ् ।' बाले यति भनेपछि 'हस्' भन्दै सिरक फालेर ऊ उठ्यो र नुहाइ धुवाइ गर्न थाल्यो ।
'आज त ठुलो एकादशी, लिङ्गो गाड्नुपर्छ । जा, गएर लिङ्गो लिएर आइज ।' आमाको वचन पूरा गर्न ऊ
बाँसघारीतिर गयो र एउटा ठिक्कको बाँसको लिङ्गो काटेर छिमलछामल र खुर्कीखार्की गरी
आँगनमा राख्यो ।
'आज त ठुलो एकादशी, फूलको लट्ठा तार्छन् ।
हामीलाई पनि लैजानु है दाइ, मादी दोभानमा ...' भाइबहिनीको कुरा काट्न नसकेर
फूल तार्ने ठाउँमा भाइबहिनीलाई पनि सँगै लिएर गयो । ठुलो एकादशीको दिनमा खाना खाने
त कुरै थिएन । बरु फलाहारेले फलफूल, दही, केरा र सातुको व्यवस्था
गरेका रहेछन् । त्यही खाएर फूलको लट्ठो तारेपछि ऊ पनि भाइबहिनीलाई लिएर फर्कियो ।
'आज त ठुलो एकादशी, तिहारको निख्य्रौलो ! पञ्च
भलाद्मीको गोलमेच बैठकमा जुट्ने होला नि ?' साथीहरूको आग्रह स्वीकार
गर्दै साथीहरूले होटेल बुक गरे ठाउँमा ऊ पनि खुसुक्क छिर्यो र आसन जमायो ।
'यतिन्जेलसम्म त तिथि पनि कट्यो होला नि ? ...' तास फेट्दा फेट्दै ऊ थप कुरा
गर्न खोज्दै थियो । होटेल साहुले कुरा बुझ्यो र भनिहाल्यो -'भुटुवा र ग्रेभी के
ल्याइदिम् अनि ड्रिङ्क्स आइटममा लोकल कि अरू ?'
----------------------------------------------------------------२०८०/०७/२०
भोर्लेटार, लमजुङ
तस्बिर स्रोतः Google
No comments:
Post a Comment