कुकुरदेखि सावधानः लघुकथा
- रमेशचन्द्र घिमिरे
फोन गर्दा गर्दा नउठेर
हत्तुहैरान भएपछि खोज्दै खोज्दै ऊ नेताज्यूको घरमा नै पुग्यो अनि घरको गेटमा भएको
स्विच थिचेर बेल बजायो । कहीँबाट केही प्रतिक्रिया आएन । स्विचकै अल्लि माथि सानो
टिनको पत्तामा लेखिएको थियो - कुकुरदेखि सावधान । 'कुकुर
भए त भुक्नु पर्ने थियो । साइनबोर्ड मात्रै रहेछ ।' उसलाई
एकातिर दिक्क लाग्यो अनि आश्चर्य पनि लाग्यो ।
उसले विगत सम्झँदै
मनमनै सोच्यो -' चुनावको घोषणा हुनासाथ
नेताज्यू सबैभन्दा पहिले मैलाई भेट्न गाउँमा जान्थे र मेरै घरमा बास बस्थे । यहाँ
आउँदा बासको त कुरै छाडौँ, मेरै
फोनसमेत उठाउँदैनन् ।'
आखिर केही सीप नचलेपछि
उसले नयाँ आइडिया लगायो र सानो चिट लेखेर साइनबोर्ड नजिकै खुसुक्क राख्यो जसमा
लेखिएको थियो -'नेताज्यू नमस्कार ! म हजुरको
गाउँले कार्यकर्ता, हजुरको अति व्यस्तताले
भेट हुन सकेन । बरु शहर आएपछि हजुरले व्यवहार मात्रै होइन नाम समेत फेर्नुभएको
कुरा मैले साइनबोर्ड हेरेर थाहा पाएँ । यो सावधानीको सूचनाका लागि हजुरलाई धेरे
धेरै धन्यवाद !'
२०८०/०७/०८ भोर्लेटार, लमजुङ
No comments:
Post a Comment