पैसामोह (लघुकथा)
- रमेशचन्द्र घिमिरे
'भैँसीले दूध दिन छोड्यो । बाली जान पनि छोड्यो । अब यो थाकेको भैँसीलाई कति दिन पाल्ने ? बेच्दिम् बुढी ।'' भैँसीलाई घाँस पराल गर्दा गर्दा हत्तुहैरान भएको लोग्नेले स्वास्नीसँग सल्लाह माग्यो ।
`बेच्ने र भन्या ? भो नबेचम् । अर्काले लगेपछि बाली जाने, बियाउने भए त ठिकै हो । दूध खानलाई लाने होइनन् होला केरे !´ स्वास्नी अनकनाई ।
'अर्काले
लगेपछि काटेर मासु खाए पनि खाउन्, दुहेर
दूध खाए पनि खाउन् । किन चाहियो ? बस्, हामीलाई पैसा चाहियो । त्यत्ति न हो ।´ लोग्नेले अलि दरिएरै कुरा गर्यो ।
`त्यसो भनेर कहाँ हुन्छ ? मैले घरकै सदस्य जस्तो
बनाएर पालेको हो । भैँसीलाई कटाइमा दिने कुरा त हुँदै हुन्न । बरु गोठमै मरोस् ।'
स्वास्नीले धन्नै आँसु चुहाई ।
'ल, भयो त
नि ! नबेच्ने भए नबेचम् ।' लोग्नेले घुर्की लगायो ।
'ह्या,
जेसुकै गर्नोस् । केको कनकन हो ?' स्वास्नी ठसक्क परी ।
लोग्नेले
चिया पसलमा हल्ला गरेकै भरमा भैँसी विक्री हुने भयो । फोन फोनमै बार्गेनिङ भयो । एउटा
ग्राहकसँग कुरा मिल्यो । ऊ भोलि बिहानै आउने भयो ।
भोलिपल्ट
बिहान भैँसी किन्ने ग्राहक आउने थाहा पाएर स्वास्नीलाई बाहिर निस्कन मन लागेन ।
सम्झौताअनुसारको मूल्यमा भैँसी विक्री भयो । भैँसी फुकाइयो । ग्राहकले डोर्याएर
लग्यो अनि लोग्ने घरभित्र पस्यो ।
स्वास्नी उदास थिई । आफ्नो उदासीपन देखाउँदै उसले अर्कै विवशता पोखी, 'घरमा नुनतेल छैन, चिनी चियापत्ती छैन । ल्याउनू, अघिको पैसा ।' उसले लोग्नको हातबाट पैसा थ्वात्त थुती, खुसुक्क गनी अनि उसको मुखबाट अनायास निस्क्यो- 'जम्मा यत्ति ?'
स्वास्नीलाई
अब भैँसी होइन पैसा प्यारो लाग्न थाल्यो ।
******************************
२०८०/०६/१५
भोर्लेटार, लमजुङ
No comments:
Post a Comment