कवयित्री शान्ति सापकोटाका प्रतिनिधि बालकविताको विश्लेषण
साभारः साहित्य पोस्ट
(कृपया साहित्य पोस्टको यो लिङ्क खोलेर पनि हेर्न सक्नुहुनेछः
शास्त्रीय छन्दकविता लेखनबाट यात्रा आरम्भ गरेर पछिल्लो समय बालसाहित्यका विविध विधामा कलम चलाउँदै आएकी शान्ति सापकोटा (वि.सं. २०२८) स्याङ्जा जिल्लामा जन्म भई हाल धोविघाट, ललितपुरमा बसोबास गर्दै आएकी सक्रिय स्रष्टा हुन् । वास्तविक नाम हुमाकला पराजुली भए पनि शान्ति सापकोटाका नामले उनी परिचित छन् । उनले समाजशास्त्रमा स्नातकोत्तरसमेत गरिसकेकी छन् । हाल उनी नेपाल बालसाहित्य समाजमा कार्यसमिति सदस्य र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रमा कोषाध्यक्षका रूपमा सक्रिय छन् । नेपाल सांस्कृतिक सङ्घबाट महाकवि देवकोटा काव्यिक पुरस्कार, तन्नेरी द्वैमासिक पत्रिकाबाट पुष्कर गौतम तन्नेरी बालसाहित्य पुरस्कार तथा छन्द कविताको स्तरीकरण तथा मानकीकरणका लागि छन्द तरङ्ग सम्मान प्राप्त गरेकी कवयित्री सापकोटा परमानन्द संस्कृत छात्र कल्याण परिषद्, सेभ द चिल्ड्रेन, रत्न पुस्तकालय वानेश्वर जस्ता विभिन्न संस्थाबाट समेत सम्मानित एवम् पुरस्कृत पनि भइसकेकी छन् ।
प्रौढसाहित्यतर्फ उनका शास्त्रीय छन्दमा लेखिएका ‘सिसृक्षा’, ‘रहस्य’ लगायतका कृतिहरू प्रकााशित छन् भने ‘आँधी खोलाको चरी’ हाइकु सङ्ग्रह पनि प्रकाशित भइसकेको छ । ‘मेरो देश’, ‘हाम्रा चाडपर्वहरू’ उनका प्रकाशित सन्दर्भ पाठ्यपुस्तकहरू हुन् । बालकथा, किशोर कथा तथा श्रम–सीप र उद्योगसँग सम्बन्धित आख्यानसँग सम्बद्ध सहलेखनका कृतिहरू प्रकाशनमा पनि उनको सहभागिता रहेको पाइन्छ । बालसाहित्यका क्षेत्रमा विशेष गरी बालकथातर्फ उनका ‘चितुवालाई झ्याइँकुटी’, ‘नारायणीपारि’, ‘लुसीको माया’ र ‘सिमसारको शङ्खे’ गरी चारवटा सङ्ग्रह प्रकाशित छन् भने ‘झ्याउँकिरी र जूनकिरी’ तथा ‘भुइँचालो’ गरी उनका दुईवटा बालचित्र पुस्तक पनि प्रकाशित भइसकेका छन् । बालकवितातर्फ उनको ‘धरतीकी रानी’ नामक सङ्ग्रह हालसालै प्रकाशित भएको छ । यो पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको हो । कलाकार रविन्द्र मानन्धरको आकर्षक चित्रसज्जा र समन श्रेष्ठको डिजाइनिङ रहेको यस सङ्ग्रहमा मकैबारीमा, बैनी, झालेमाले गाई, विद्यालय, सानी नानी, म, शीला नानी, तिहार, जिउ र जाडो, मकै, एउटाबाट माना भो, बीजबाट बोट, बोटका कुरा, भँवराका कुरा, लहराका कुरा, चरीका कुरा, सिमल र असारे झरी गरी जम्माजम्मी १८ वटा बालकविताहरू सङ्गृहीत छन् । १२ अक्षरे लोक भजन, १२ र १४ अक्षरे सबाई, ७ वा १४ अक्षरे बालोरी र १६ अक्षरे असारे झ्याउरे आदि विभिन्न लयमा रचिएका यी बालकविताहरूमा पर्याप्त मात्रामा गीतिगुण रहेको पाइन्छ । बालबालिकाहरूले रमाई रमाई गाउन सक्ने यी बालकवितामा प्राकृतिक जीवजन्तु, कीटपतङ्ग, वनस्पति, पशुपक्षी, मौसम वा ऋतु लगायत शैक्षिक चेतना, पारिवारिक नातागोता, पर्यावरण, बाल्य अनुभव आदिलाई मुख्य विषयवस्तु बनाइएको पाइन्छ । यस सङ्ग्रहमा सङ्कलित कविताका आधारमा कवयित्री सापकोटाका बालकवितात्मक प्रवृत्ति वा विशेषतालाई यसप्रकार केलाउन सकिन्छः
बालमनोविज्ञान, बालबोलीको प्रयोग, बालरुचिअनुकूलता, बालकका चाहना र भावनाको कदर, बालसुलभ कोमलता, बालजिज्ञासा, बाल्यअनुभवका साथै लयगत संरचना र विषयवस्तु चयनमा विविधता पाइनु उनका प्रमुख बालकवितात्मक वैशिष्ट्य हुन् । चाहे मानवले मानवलाई होस्, चाहे मानवले पशुलाई अथवा पशुले पशुलाई माया गरेको प्रसङ्गमा नै किन नहोस् उनका बालकवितामा वात्सल्य भाव वा वत्सल रसको प्रयोग भएको भेट्टाउन सकिन्छ । उनका कतिपय बालकवितामा प्रकृतिको मानवीकरण गरिएको पाइन्छ । शैक्षिक जागरण र चेतनाका सन्दर्भ पनि उनका बालकवितामा मिसिएका छन् । बालबालिकामा हुने सिर्जनशीलता र कर्मप्रतिको चासो अनि बालबालिका स्वयम् उत्साहित भएर गर्ने परिश्रमी कार्य, अग्रज बुबाआमा र ज्येष्ठ सदस्यहरूप्रति बालबालिकाले गर्ने स्याहारसुसार, हेरचाह, रेखदेख र अपार श्रद्धाजस्ता सचेत बालवालिकाका अनुकरणीय आदर्श पनि उनका बालकवितामा प्रवृत्तिगत वैशिष्ट्यका रूपमा देखा पर्दछ । पर्यावरणीय संरक्षणप्रतिको चासो र चिन्ता अनि वानस्पतिक जीवनचक्रको वस्तुपरक प्रस्तुतिका कारण विज्ञानसम्मत दृष्टिकोण पेश गर्ने कविका रूपमा उनको परिचय पाउन सकिन्छ । कलात्मक भाषाभित्र चिन्तन र सूक्ष्म दार्शनिकता अँगाल्नु पनि परम्परागत धारभन्दा भिन्न रहेको उनको नवीनतम प्रवृत्ति हो । त्यसैले उनका केही बालकविताहरू शब्द सरल भए पनि भाव गहन र अपेक्षाकृत जटिल भएको अनुभूत गर्न सकिन्छ । आग्रहीकरणको भन्दा पनि नाटकीकरणको भाषाशैलीको प्रयोगका कारण बालकलाई आदेशबाट नभई सल्लाह र हौसलाबाट सिर्जनकर्ममा लाग्न उनका कविताले प्रेरित गरेको देख्न सकिन्छ । नेपाली काव्यपरम्परामा चलेको स्वच्छन्दतावादी भावधाराको अनुसरण गर्दै कवयित्री सापकोटाका कतिपय बालकवितामा प्रकृतिप्रेम, सौन्दर्यप्रेम र कल्पनाप्रेमको त्रिवेणी पाइन्छ । यसका साथै परम्परित संस्कृतिप्रतिको मोह हुनु, बाल्यजीवनतर्फ फर्कनु, अतीततर्फको चासो हुनु र लोकजीवन एवम् ग्रामीण संस्कृतिमा रम्न रमाउन खोज्नु पनि उनका स्वच्छन्दतावादी भावधारातर्फ सम्बन्धित बालकवितात्मक वैशिष्ट्य हुन् । पूर्ण अन्त्यानुप्रासको सफल प्रयोग, सरर्र बगेको चिटिक्कको भाषाशैली, गति–यति–लयमा अनुशासन, सूक्ष्म आख्यान वा झिनो कथानक सहितको सिलसिलेबार प्रस्तुति आदिले उनका बालकविता अझ रोचक, पठनीय र कलात्मक बन्न पुगेका छन् । यिनै कवयित्री शान्ति सापकोटाको वि.सं. २०७८ मा प्रकाशित ‘धरतीकी रानी’ बालकवितामा सङ्कलित ‘मकै बारीमा’, ‘विद्यालय’ र ‘सिमल’ गरी ३ वटा बालकविताको समीक्षा र विश्लेषण गर्ने प्रयास यहाँ गरिएको छ ।
१. मकै बारीमाः
कवयित्री शान्ति सापकोटाको ‘मकै बारीमा’ बालकविता १२ अक्षरे लोकभजन (२+२+३ २+३) को संरचनामा रचित आख्यान मिश्रित र प्रकृतिचित्रणत्मक उत्कृष्ट लोकलयात्मक बालकविता हो । प्राकृतिक वनस्पति मकै र कृषिकर्ममा लाग्ने किसानको कर्मथलो मकै बारीलाई विषयवस्तु बनाइएको विवेच्य कवितामा ‘म’ पात्रका रूपमा आएकी बालपात्रको एकालाप प्रस्तुत गरिएको छ । केही समयअगाडि छरेका मकै अहिले आएर हेर्दा हुर्किसकेको देखेर रमाएकी बालपात्रले एउटा मकैको बोट हुर्कन र त्यसबाट बढीभन्दा बढी उत्पादन लिनका लागि के–कस्ता कर्महरू गर्नुपर्छ भन्ने कुराको सन्दर्भ कवितामा अघि सारिएको छ भने सिर्जनामा अवरोध पुर्याउने बारबन्देजलाई पन्छाउनुपर्छ भन्दै हाम्रो जीवनमा पनि त्यस्ता अवरोधक भएमा तिनीहरूलाई हटाएर अगाडि बढ्न सक्नुपर्छ भन्ने भित्री अर्थ पनि कवितामा अभिव्यक्त भएको छ । कविताको भावार्थ यस्तो छः
लेखिकाको प्रतिनिधित्व गर्ने बालिकाको रहर पनि अचम्मको छ । आमाको पछि लागेर ऊ मकै बारीमा आएकी छ । हिँड्ने मेसो नपाउँदा झन्नै सिस्नो घारीमा खस्न पुगेकी जिज्ञासु बालिकाको हातमा धन्न एउटा कुटो थियो र त्यसकै माध्यमले टेक्दै र त्यसैमा समाउँदै जोगिन ऊ सफल हुन्छे र रमाउँछे । आमासँग मकै बारीमा आउँदा उसले पनि मकै छर्न भ्याएकी थिई । हिजो छरेका मकै अहिले बोट भइसकेछन् । वरिपरि झार पनि पलाइसकेछन् । आफूले छरेको त मकै हो तर नछरे पनि कता–कताबाट झार पनि पलाई भ्याएछन् । सायद यिनले यति राम्रा मकैलाई खाइदिन पनि सक्छन् । त्यसैले उसले आमासँग झार फाल्नुपर्ने प्रस्ताव राख्दा आमाले अनुमति दिएपछि बालिकाले झार उखेलेर फालिदिएकी छे । बुझ्झकी छोरीले कृषिकर्ममा दक्ष आमाबाट अरू कुरा पनि थाहा पाउँछे । कोदालीको सहारा लिएर माटोलाई खन्नु वा गोडमेल गर्नुपर्छ । यसो गर्दा माटो खुकुलो बन्छ र मकै अझै बढ्न र उत्पादन पनि राम्रो हुन सक्छ । यति कुरा बुझेपछि उसले साथीलार्ई मकै बारीमा बोलाउँदै सिस्नो घारीमा लड्ने सम्भावना भएकाले होसियारी अपनाउँदै आउन आग्रह गरेकी छे । कविता यस्तो छः
आमासित आएँ म मकै बारीमा
झन्डै तल झरेको सिस्नो घारीमा
कुटो थियो साथमा टेकेँ समाएँ
जसोतसो बारीमा पुगेँ रमाएँ
मैले मकै छरेको बोट भएछन्
बोटसँग झार पनि हुँदा रहेछन्
मकैलाई खाने झार फाल्नुपर्छ हो ?
हो भन्नु भो आमाले उखेल्दिएँ त्यो
कोदालीले माटोलाई खन्नुपर्छ रे !
मकैलाई खुकुलो बन्नुपर्छ रे !
तिमी पनि आऊ साथी मकै बारीमा
होस गर लडौला नि सिस्नो घारीमा ।
२. विद्यालय
कवयित्री सापकोटाको ‘विद्यालय’ बालकविता १४ अक्षरे सबाई (२+२+२+२, २+२+२) लोकछन्दमा आधारित शैक्षिक चेतनासँग सम्बन्धित विषयवस्तुमा रहेर लेखिएको कविता हो । साथीसँग मित्रता गाँस्न पाइने, गुरु–गुरुआमाबाट पारिवारिक ममता र स्नेहसहित ज्ञान आर्जन गर्न सकिने र आफ्नै घरले जस्तै सुरक्षाको अनुभूति गराउने विद्यालयका विशेषतालाई कविताले औँल्याएको छ । खास गरी यस कवितामा विद्यालयलाई ज्ञानको भण्डारका रूपमा हेरिएको छ । विद्यालयलाई आत्मीयता र आनन्दको सञ्चारका रूपमा पनि हेर्न सकिने भाव बोकेको यस कविताको भावार्थ यस्तो छः
बालबालिकाका लागि पहिलो घर जन्मघर हो भने दोस्रो घर विद्यालय वा पाठशाला हो । जसरी घरले हावापानी छेक्छ त्यसरी नै विद्यालयले पनि हावापानी छेक्छ । क्षमता हुने बालबालिकाले विद्यालयबाट ज्ञानको खानी झिक्न सक्छन् । जन्मघरमा एकाघरका सीमित सदस्यहरू मात्रै हुन्छन् भने विद्यालयरूपी घरको छानामुनि सँगै हाँसखेल गर्ने धेरै साथीहरू र शिक्षा दिने गुरुआमा र गुरुहरू समेत अटाएका हुन्छन् । विद्यालयमा बज्ने पहिलो लामो घन्टीले पढाइ सुरु भएको सङ्केत गर्छ भने दोस्रो पटक बज्ने लामो घन्टीले खेलछुट्टी भएको सूचना दिँदै रमाएर खेल्ने कुराको सङ्केत गर्छ । कवितामा विद्यालयमा साथीहरू फूलैफूलले सजिएको मालाजस्तै भएर मिलिजुली बस्छन् भनिएको छ । यस बालकवितामा विद्यालयलाई हाँस्न र खेल्न पाइने अनि पौरख गर्ने ठाउँका रूपमा समेत चिनाइएको. छ । विद्यालय यस्तो ठाउँ हो जसले आफ्नो नाम उच्च राख्न मद्दत गर्छ त्यसैले दिनदिनै झोला बोकी विद्यालय आएर चेतनाको दियो बाली विश्वलाई हेर्न म पनि आइरहन्छु भन्ने बालपात्रको अभिव्यक्तिसहित कविताको समापन गरिएको छ । कविता यस्तो छः
पहिलो घर जन्म घर खेलेँ सुरुसुरु
दोस्रो घर पाठशाला गएँ खुरुखुरु
घरजस्तै विद्यालय छेक्छ हावापानी
झिक्न जाने भित्रबाट ज्ञानको छ खानी
कति धेरै साथीहरू एउटै छानामनि
शिक्षा दिने गुरुआमा गुरुहरू पनि
पैलो घण्टी टिनिनिनी पढ्ने लेख्ने बेला
दोस्रो घण्टी टिनिनिनी चल्छ हाम्रो खेला
साथीहरू मिलिजुली बनी बस्छौँ माला
जुन मालाले सजिएको हाम्रो पाठशाला
हाँस्न खेल्न पाइने ठाउँ पौरख गर्ने ठाउँ
विद्यालय यस्तो ठाउँ उच्च राख्छ नाउँ
दिनदिनै झोला बोकी विद्यालय आई
चेतनाको दियो बाली हेर्छु विश्वलाई ।
३. सिमल
‘सिमल’ कविता १४ अक्षरे सबाई (२+२+२+२, २+२+२) लोकछन्दमा रचिएको प्रकृति र पर्यावरणीय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा आधारित बालकविता हो । यसमा प्राकृतिक वनस्पति सिमलको प्रसङ्ग अघि सार्दै संस्मरणात्मक शैलीमा कविको बाल्यकालको अनुभव वर्णन गरिएको छ । बाल्यकालीन अतीतको स्मरण गर्ने क्रममा कवयित्रीका मनमा पलाएको ग्रामीण संस्कृतिप्रतिको मोह र लोकजीवनप्रतिको चासो पनि यस बालकवितामा भेटिन्छ । कवितामा कल्पना पक्ष र प्रकृतिप्रेमको सबल प्रस्तुति भएको छ । यसो हुँदा यस कवितामा स्वच्छन्दतावादी भावधारा सल्बलाएको देख्न सकिन्छ । मानिसले प्राकृतिक सम्पदा जोगाउन नसक्दा दुःख पाएको निचोड कवितामा दिइएको छ । प्रकृतिले दिने निःशुल्क उपहारलाई जतन गर्नुको साटो व्यक्तिगत स्वार्थसिद्धिका लागि उपयोग गरिएकोमा भावुक बनेको बनेकी कविलाई हुनसम्म चित्त दुखेको छ । कविताको भावार्थ यस्तो छः
झट्ट हेर्दा कथयिता पात्र सहरी बसाइलाई छोडेर जन्म भूमि अर्थात् गाउँ आएको भान हुने यस बालकवितामा संस्मरणात्मक शैलीबाट विषयको उठान गरिएको छ । कथयिता पात्रको घरमाथि सिमलको अग्लो रुख थियो तर आज त्यो रुख त्यहाँ छैन । यसो हुँदा ‘म’ पात्रलाई दुःख लागेको छ । आफू सानो छँदा देखिएको उक्त सिमलको रुख अहिले निकै अग्लो भएर जूनलाई छुन र हावासँग सुसेलेर धुन बनाउन सक्थ्यो भन्ने कल्पना कवितामा गरिएको छ । सिमलको रुख भएकै ठाउँ बाल्यकालमा लुकामारी खेल्ने ठाउँ थियो जसमा दिदीलाई नदेख्दा ‘म’ पात्रको भाइ त्यहीँ खोज्न आउँथ्यो । त्यो त्यही सिमलको रुख थियो जहाँ चिलहरू गुँड बनाएर बास बस्थे । तर आज ती चिलहरू रुँदै चल्ला समाएर कता गए होलान् भन्ने पिरलो कविलाई परेको देखिन्छ । त्यही सिमलको रुखबाट फुरुरुरु भुवा उड्दा भुईं सेतै हुन्थ्यो र जसलाई बटुलेर घरमा ल्याउन सके मात्र पनि राम्रै सिरानी बन्थ्यो । सिमल ढलाएपछि अचेल डाँडाकाँडा उजाड भएका छन् र भनेजस्तो खेल्ने ठाउँ नपाउँदा सानो भाइ पनि पिन्चे भएको छ । पछिल्लो पुस्ताका लागि भनेर सिमलको रुख रोप्ने, हुर्काउने र जोगाउने काम अघिल्लो पुस्ताका बाजे–बराजुहरूले गरेका थिए । तर पछिल्लो पुस्ताका व्यक्तिले त्यसलाई जोगाउनुको सट्टा आरो–बन्चरो लिएर ढलाउन पुगेका छन् । ती सिमलका रुखले प्राकृतिक सौन्दर्यलाई कायम राख्न र वातावरणलाई जोगाउन पनि ठूलै मद्दत पु¥याएका थिए । त्यसो हुँदा हिजोकै जस्तै हरियाली र सुन्दरता पुनः देख्न पाइयोस् भन्ने आशा राख्दै साना–साना बोटहरूलाई नै ठूलो हुँदै गएर आकाशलाई छुने आग्रह गर्दै कविताको समापन गरिएको छ । कविता यस्तो छः
घरमाथि उभिएको सिमलको रुख
आज हेरेँ छैन त्यहाँ लाग्यो मलाई दुःख
माथि माथि अग्लिएर छुन सक्थ्यो जून
हावासँग सुसेलेर बनाउँथ्यो धुन
लुकामारी खेल खेल्थ्यौँ स्कुलबाट आई
मलाई खोज्न त्यहीँ आउँथ्यो मेरो सानो भाइ
चिलहरू बास बस्थे गुँड बनाएर
कहाँ गए होलान् रुँदै चल्ला समाएर
फुरुरुरु भुवा उडी भुईं सेतै हुन्थ्यो
बटुलेर घर ल्याए सिरानी पो बन्थ्यो
उजाड छन् अचेल् डाँडा सिमल ढलाएर
भाइ पनि रुन्चे भा’छ खेल्न नपाएर
बडा बाले जोगाएका सिमलका बोट
आरा रेटी रेटी बाले दिए घाउ चोट
ठूला ठूला सिमलको कति थियो गुन
साना बोट जाऊ अब आकाशलाई छुन ।
निष्कर्षः
कवयित्री शान्ति सापकोटा प्रायः प्रकृति र पर्यावरणलार्ई नै विषयवस्तु बनाएर शब्द खेलाउने र त्यसमा बाल्यकालीन अनुभवलाई मिसाएर रमाइलो मान्ने कुशल शिल्पी भएकी कवि हुन् । यसै कारणले पनि यिनै प्रवृत्तिसँग मिल्दोजुल्दो हुने गरेर उनले कवितासङ्ग्रहको शीर्षक चयन गरेकी छन् र ‘धरतीकी रानी’ भन्ने नाम दिएकी छन् । विवेचनाका लागि छानिएका माथि उल्लेखित कविताहरूमा पनि यी र यस्तै प्रवृत्ति पाइन्छन् । यिनीहरूमध्ये ‘मकै बारीमा’ कवितामा प्रकृतिलाई मुख्य विषय बनाउँदै बालअनुभव र कर्मशीलतालाई महत्त्व दिइएको छ भने ‘विद्यालय’ बालकवितामा शिक्षा, चेतना र ज्ञानको सञ्चार गराउने विद्यालयमा आत्मीयता, मनोरञ्जन र सुरक्षाको प्रत्याभूति हने विचार अभिव्यक्त गरिएको छ । ‘सिमल’ कवितामा प्रकृतिको अमूल्य सम्पदा जस्तै रहेको सिमलको प्रसङ्ग अघि सार्दै बालअनुभव, बालखेल, वातावरणीय संरक्षणप्रतिको चासो र चिन्ता, ग्रामीण संस्कृति र लोकजीवनप्रतिको मोह, अतीतको स्मरण, नयाँ पुस्तामा हुनुपर्ने कर्तव्यबोध, अग्रजले गरेका अनुकरणीय आदर्शको सम्मान, वर्तमानमा देखिएको बेथिति, आशावादी स्वर जस्ता धेरै कुराहरू सूक्ष्म रूपमा केलाइएका छन् । पूर्ण अन्त्यानुप्रास, गति–यति–लयमा अनुशासन, रोचकता र मनोरञ्जनात्मकता, सूक्ष्म आख्यान, शृङ्खलाबद्धता, गेयात्मकता आदि माथिका तीनवटै कवितामा पाइने साझा विशेषता हुन् ।
– भोर्लेटार, लमजुङ
No comments:
Post a Comment