समीक्षाः कवि प्रमोद प्रधानका प्रतिनिधि बालकविताको विश्लेषण (समीक्षा) - रचना चौतारी

Breaking

Powered By Blogger

May 25, 2021

समीक्षाः कवि प्रमोद प्रधानका प्रतिनिधि बालकविताको विश्लेषण (समीक्षा)

कवि प्रमोद प्रधानका प्रतिनिधि बालकविताको विश्लेषण (समीक्षा)

कवि प्रमोद प्रधान
नेपाली बालसाहित्यको इतिहास, सिद्धान्त र विविध विधाका बारेमा गहन र खोजमूलक अध्ययन, अनुसन्धानमा लागिपर्ने प्रमोद प्रधान (२०१५) बालकविताका क्षेत्रमा समेत बालमनोविज्ञानमा आधारित रहेर रसिला एवं चोपिला कविता लेख्ने सक्रिय सर्जक र दीर्घ साधक हुन् ।

बालसाहित्यतर्फ बालकविता, चित्रकविता, चित्रकथा र बालकथा जस्ता सिर्जनात्मक विधा तथा समालोचनाका क्षेत्रमा समेत उनले कलम चलाएका छन् ।उनले सङ्ख्यात्मक हिसाबले प्रशस्त र गुणात्मक हिसाबले उच्च कोटिका बालसाहित्यिक रचनाहरू नेपाली बालसाहित्यका फाँटमा सुम्पिएका छन् । ‘कान समात् कान’, ‘कानाकाना कुरर्’, ‘सधैँभरि लुकामारी’ र ‘र्‍याइँ-र्‍याइँ सारङ्गी’ उनका प्रकाशित बालकवितासङ्ग्रह हुन् भने ‘टुसा खाने मुसा’ र ‘रसैरस रसिली’ उनका शिशुचित्रकवितासङ्ग्रह हुन् । बालचित्रकवितातर्फ कवि प्रधानका ‘मेरो साथी खोइ ?’, ‘छुकछुक छुकछुक आयो रेल’, ‘मेरो गाउँघर’, ‘भुर्र भुर्र चरी’, ‘नाच्न थाल्यो चङ्खे बाँदर’, ‘पाठा पाठी’, ‘बार्दलीमा फर्सी’, ‘छुट्यो झोला’ र ‘हामी बस्छौँ घरमा’ जस्ता कृति प्रकाशित भएका देखिन्छन् ।
समीक्षक रमेशचन्द्र घिमिरे

प्रधानका ‘नेपाली बालसाहित्यको इतिहास’, ‘नेपाली बाल–वाङ्मय परिचयकोश’, ‘नेपाली बालसाहित्य सन्दर्भ सूची’, ‘बालसाहित्यमा विनय कसजू ः योगदान र मूल्याङ्कन’ लगायतका अनुसन्धनात्मक वा समालोचनात्मक  कृतिहरू प्रकाशित छन् । कवि प्रमोद प्रधानले ‘प्रतिनिधि बालकविताहरू’, ‘प्रतिनिधि नेपाली बालकविता’, ‘हाम्रा पे्ररणा’ (बालोपयोगी जीवनी) र बालबालिकाले लेखेका ५ कृतिको पनि सम्पादन गरेका छन् । उनको ‘रामोन म्यागासेसे पुरस्कार विजेता अन्तर्राष्ट्रिय नेपाली प्रतिभाहरू’ नामक बालोपयोगी जीवनी तथा ‘चर्चित महिला प्रतिभा’ नामको अर्को जीवनीमूलक कृति पनि प्रकाशित भएको पाइन्छ । ‘माहुरी र गँडेउला’ शीर्षकमा उनको अनूदित बालकथासङ्ग्रहको कृति पनि प्रकाशित छ ।  नेपाल बासास बालपुस्तक पुरस्कार, जमर्को बालपत्रकारिता पुरस्कार, साझा बालसाहित्य पुरस्कार, कविताराम बालसाहित्य प्रवद्र्धन सम्मान, पुस्कर गौतम बालसाहित्य पुरस्कार, रमेश विकल बालसाहित्य पुरस्कार लगायतका दर्जनौँ पुरस्कारद्वारा पुरस्कृत एवम् सम्मानित कवि प्रधान हाल नेपाल बालसाहित्य समाजको उपाध्यक्ष र बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्षका रूपमा कार्यरत छन् । बालसाहित्य लेखनसम्बन्धी विभिन्न कार्यशाला र तालिममा प्रशिक्षकका रूपमा समेत कविले  सहभागिता जनाइसकेका छन् ।

उनले लेखेको ‘नेपाली बालसाहित्यको इतिहास’ नामक कृतिलाई बालसाहित्य क्षेत्रकै आधिकारिक र प्रामााणिक दस्तावेज मान्न सकिन्छ जुन पुस्तक बालसाहित्यप्रति चासो राख्ने र यसका बारेका अध्ययन गर्दै गरेका पाठक र सर्जकका लागि समेत मार्गनिर्देशक बन्न सकेको छ । यस कृतिमा उनले बालसाहित्यका विभिन्न विधाहरू, विधागत परिचय, सिद्धान्त र इतिहास, मौखिक र कथ्य बालसाहित्यिक रचनाका सोदाहरण नमुना, बालसाहित्यमा लाग्ने सर्जकहरूको बालसाहित्यिक योगदान र विशेषतासहितको परिचय, बालसाहित्यिक सामग्रीहरूको सूची लगायतका सामग्रीहरूको सञ्चयन गरेका छन् । 

कवि प्रमोद प्रधानका बालकवितात्मक वैशिष्ट्य हेर्दा उनका बालकवितामा बालभाषा, बालकल्पना, बालसुलभ व्यवहार, बालोचित कोमल भावना, बालमनोविज्ञान र बालोपयोगी सन्दर्भको प्रयोग भएको पाइन्छ । अर्ती–उपदेशबाट टाढै रहनुपर्ने र मनोरञ्जनलाई नै पहिलो प्राथमिकतामा राखेर बालकविताको सिर्जना गरिनुपर्नेमा कविको स्वीकारोक्ति रहेको छ । बालकविताका सर्जकले कविताको रहस्य उद्घाटन गर्न हतारिनु हुँदैन बरु त्यसको जिम्मा बालपाठकलाई नै सुम्पनुपर्छ भन्ने धारणा कविको छ । उनका कतिपय बालकवितामा प्रकृतिलाई नै उपजीव्य बनाइएको पाइन्छ । बालकवितामा उनी वर्णनात्मक भन्दा पनि झिनो आख्यानात्मक र संवादात्मक शैलीको प्रयोग गर्न रुचाउँछन् । उनी सङ्क्षिप्त आयतनमा गहन भाव बोकेका सुन्दर कविता लेख्ने सर्जक हुन् । आफ्ना बालकवितामा प्रकृति र मानव जीवनबिचको घनिष्ठ, तादात्म्य र एकाकारताको सम्बन्ध देखाउँदै कवि प्रधान प्रकृतिको मानवीकरण गरेर लेख्न रमाइलो मान्छन् । समग्रमा भन्दा कवि प्रधानका बालकविता बालबालिकाको तर्क क्षमताको अभिवृद्धि गराउने, कर्मशील हुन हौस्याउने, सिर्जनात्मक बन्न सघाउने, कल्पना पक्षको उजागर गर्ने, राष्ट्रप्रति बफादार हुन घच्घच्याउने, जिज्ञासु बनाउने, ग्राम्य परिवेशको झल्को दिने, पशुपक्षीप्रति सद्भाव दर्साउने, स्व–संस्कृतिप्रतिको मोह झल्काउने र बालबोलीका शब्दमा रमाउने खालका हुन्छन् । समालोचक डा. ऋषिराम शर्माले आफ्नो ‘बालसाहित्य समालोचना’ नामक कृतिमा प्रमोद प्रधानका बालकवितात्मक वैशिष्ट्यका बारेमा विस्तृृत चर्चा गरेका छन् । समालोचक शर्माका अनुसार कवि प्रमोद प्रधान प्रकृति वर्णन, पशुवर्णन, राष्ट्रप्रेम, ग्रामीण परिवेशप्रति मोह, कृत्रिमताको विरोध जस्ता स्वच्छन्दतावादी प्रवृत्तिका वैशिष्ट्यहरूले आफ्ना बालगीत कवितालाई सरस एवम् बालहृदयाकर्षक तुल्याउने अथक साधक हुन् । कवि प्रमोद प्रधानको बालकवितात्मक प्रवृत्तिका बारेमा राष्ट्रकवि माधव घिमिरेले कविको ‘सधैँभरि लुकामारी’ बालकवितासङ्ग्रहमा ‘आकारमा छोटो र भावमा मीठो’ शीर्षक दिएर भमिका नै लेखेका छन् जसको निचोड यस्तो छः “प्रमोद प्रधानका बालगीतहरू भाका, भाषा र भावका दृष्टिले बालबालिका सुहाउँदा छन् । यिनको भाषा लोकलयसँग मिल्दोजुल्दो र गाउँदै खेल्न र खेलाउन पनि हुने खालको छ । ... यी गीतहरू हामीले बालबालिकालाई हिँडाउन आफ्नो कान्छी औँला जस्ता छन्, बालबालिकाहरू यिनलाई आफैले समातेर रमाइलो संसारतिर र रसिलो जीवनतिर यात्रा गर्ने छन् ।”

 यहाँ यिनै बालसाहित्य सर्जक प्रमोद प्रधानका ‘काना काना कुर्र’, ‘कान समात् कान’ र ‘¥याइँ ¥याइँ सारङ्गी’ बालकवितासङ्ग्रहमा सङ्कलित क्रमशः ‘घाम राजा र जून रानी’, ‘कपासको खेती’ र ‘कुकुर र बिरालो’ गरी तीन वटा बालकविताहरूको विश्लेषणको प्रयास गरिएको छ ।

१. घाम राजा र जून रानी–

‘घाम राजा र जून रानी’ बालकविता कवि प्रमोद प्रधानको ‘काना काना कुर्र’ बालकविता सङ्ग्रहमा सङ्गृहीत प्रकृतिचित्रणात्मक उत्कृष्ट बालकविता हो । प्रकृतिको मानवीकरण गरेर लेखिएको यस बालकवितामा घामलाई पुलिङ्गी र जूनलाई स्त्रीलिङ्गी शब्दका रूपमा प्रयोग गरिएको छ । घामलाई राजा र जूनलाई रानीका रूपमा आरोपित गरिएको यस बालकवितामा कल्पनाशील पक्ष प्रबल छ । बालबालिकामा हुने कर्तव्यबोधी चेतना, उनीहरूले गर्ने स्नेहको अपेक्षा र बालसुलभ व्यवहारको चित्रण कवितामा गरिएको छ । कविताको भावार्थ यस्तो छः


आकाशमा घाम र जून आलो–पालो गरी आउँछन् । आपसमा सल्लाह गरेझैँ जानी–जानी आउने घाम दिनमा आउँछ भने जून राति देखिन्छ । घामले मिर्मिरेमा ज्योति बोकेर सबैलाई उठाउँदै आफ्नो कर्तव्यको पालन गर्दछ अनि दिनभरि मान्छेहरूकै साथमा बसेर काममा सघाउँछ । घामको उपस्थितिले मानिसलाई सिर्जनकर्ममा लाग्न हौस्याउने हुँदा बालक बनेका कविले आफ्नै साथी ठानी हामीलाई सधैँ माया गर्नका लागि मायालु बोलीमा अनुरोध गरेका छन् । दिनभरि काम गरेको मानिस थाकेपछि रातमा आराम खोज्छ । त्यतिखेर उसका लागि जून साथी हुन्छ । कल्पनामा डुब्दै कवि के भन्दछन् भने जूनले काखमा राखी हामीलाई सुताउँछ र आफू जाग्राम बसी रात बिताउँछ । घाम र जून दुवै हाम्रा लागि स्नेहका आधार भएका छन् भन्दै हामी सानासाना केटाकेटीलाई यसरी नै सधैँ स्नेह गर्नका लागि लयालु आग्रह गरेर कविताको समापन गरिएको छ । कविता यस्तो छः

आलोपालो गरी आउने दुवै जानाजानी
दिनमा आउने घाम राजा रातमा जून रानी

मिर्मिरेमा माया बोकी सबलाई उठाउँछौ
दिनभरि साथै बसी काममा सघाउँछौ
सधैँ माया गर हाम्लाई आफ्नै साथी ठानी
दिनमा आउने घाम राजा रातमा जून रानी

काखमा राखी हामीलाई तिमी सुताउँछौ
आफू भने जाग्राम बसी रात बिताउँछौ
सधैँ स्नेह गर हाम्लाई हामी सानासानी
दिनमा आउने घाम राजा रातमा जून रानी ।


२. कपासको खेती–

‘कान समात् कान’ बालकविता सङ्ग्रहमा सङ्कलित ‘कपासको खेती’ बालकविता कवि प्रमोद प्रधानको प्रकृतिचित्रणमा आधारित कल्पनाप्रधान बालकविता हो । यस कवितामा कपासकोे खेती भनेर कविले बादल शब्दलाई सङ्केत गर्न खोजेका छन् तर ‘बादल’ शब्दको प्रयोग कविले कतै नगरेका हुँदा रहस्यको उद्घाटन गर्न पाठकलाई नै जिम्मा लगाइएको भान हुन्छ । यो कविता हवाई यात्रामा लागेको यात्रुले जहाजबाट हेर्दा गरेको कल्पनासँग मेल खाने खालको छ । कविताको भावार्थ यस्तो छः

आकाशमा कतै गुजुल्टा परेका, कतै रङमङिएका र कतै फुर्र–फुर्र उड्दै गरेका बादलको टुक्राहरू देखेर कविले आकाशमा कपासको खेती कसले गर्छ होला भनेर शङ्का गरेका छन् र आकाशलाई भेटेर उसैसँग सोध्ने अभिलाषा प्रकट गरेका छन् । बोटबिरुवा नभए पनि र पानी–मल नचाहिए पनि बादलरूप्ी कपास आकाशमा ढकमक्क फुलेको देख्दा ‘म’ पात्र छक्क परेको छ । कपासझैँ फुल्ने बादल धेरैजसो सेतो भए पनि कहिलेकाहीँ कालो देखिन्छ भन्दै कविले यस कवितामा बादलको स्त्रीलिङ्गी विशेषण (‘काली’ र ‘सेती’) को प्रयोग गरेका छन् । बादललाई घाम र जूनले साथ दिएका हुन्छन् । घामले दिनभरि बादललाई साथी बनाउँछ भने राति जूनसँग जिस्किएर उसको रात बितेको कल्पना गर्दै सूक्ष्म शृङ्गारिक अभिव्यक्ति समेत कविले दिएका छन् । कविले बादललाई बालपात्रका रूप्मा उभ्याउँदै केटाकेटी बनेर बतासलाई पछ्याउने कल्पनासमेत कवितामा गरेका छन् । कविता यस्तो छः

आकाशमा कसले गर्छ कपासको खेती
जाऔँ हामी सोधी आऔँ उसैलाई भेटी

बोट छैन बिरुवा छैन फुल्छ ढकमक्क
पानी मल चाहिँदैन पार्छ सधैँ छक्क
कुनैचाहिँ काली हुन्छे कुनै चाहिँ सेती
आकाशमा कसले गर्छ कपासको खेती
घाम आई दिनभरि उसलाई साथ दिन्छ
जूनसँगै जिस्किएर उसको रात बित्छ
बतासलाई पछ्याउँछ बनी केटाकेटी
आकाशमा कसले गर्छ कपासको खेती ।


३. कुकुर र बिरालो–

‘र्‍याइँ-र्‍याइँ सारङ्गी’ बालकवितासङ्ग्रहमा सङ्कलित कवि प्रधानको अति सङ्क्षिप्त आयतनमा लेखिएको ‘कुकुर र बिरालो’ बालकविता संवादात्मक शैलीमा आधारित छ । प्राकृतिक प्राणी कुकुर र बिरालाले मानिसले झैँ बार्तालाप गरेको प्रस्तुत बालकवितामा हरेक प्राणीले आफ्नो अस्तित्व र जीवन रक्षाको चाहना गरेको हुन्छ भन्ने भाव अभिव्यक्त गरिएको छ । आफ्नो धर्ती प्यारो हुने कुराको सन्दर्भसमेत यसमा गाँसिएको छ । कविताको भावार्थ यस्तो छः

कवितामा कुकुर र बिराला गरी जन्मजात शत्रु रहेका दुई प्राकृतिक प्राणीको उपस्थिति छ । कुकुरलाई ‘कुतु’ र बिरालालाई ‘सुरी’ नाम दिई बालबोलीको प्रयोग कवितामा भएको छ । कुकुरले बिरालालाई सुरी नाम दिएर बोलाउँदै किन धुरी चढेको भनी जिज्ञासा राखेको छ भने खाटबाट खसेर घाटमा जानुपर्ला भन्दै बिरालोप्रति अपमान समेत गरेको छ । बिरालो पनि कम छैन । उसले पनि कुकुरलाई कुतु नामबाट सम्बोधन गरेर ‘म धुरी चढूँ कि खाटमा सुतूँ ?’ मैले स्वतन्त्रतापूर्वक गर्ने काममा अरु प्राणीले चासो लिन नपर्ने भन्दै आपत्ति जनाएको छ र आफू चानचुन बिरालो नभएको कुरा बताएको छ साथै आफ्नो स्वाभिमान र स्वतन्त्रतामाथि अर्काको हस्तक्षेप हुन नहुने कुराको समेत सङ्केत दिएको छ । कुकुरले भित्रभित्रै हार खाए पनि सो अभिव्यक्ति नदिन स्वाभिमानी रहेको बताउँदै आफू धर्तीप्रिय रहेकाले माथि नचढ्ने कुरा बताएको छ । आखिर जहाँसुकै गए पनि यथार्थमा कसैले पनि आफ्नो धरातल बिर्सनुहुँदैन । सधैँ धुरी चढेर मात्र सम्भव छैन, आफ्नो ठाउँ अर्थात् धर्तीमा जसरी पनि आउनै पर्छ भन्ने भित्री अभिप्राय समेत कविताले बोकको छ । कविता यस्तो छः

 

कुकुरः     सुरी सुरी सुरी
            किन चढिस् धुरी
        खस्लास् खाटबाट
जानुपर्ला घाट

बिरालोः     कुतु कुतु कुतु
            चढूँ या म सुतूँ ?
                तँलाई चासो किन ?
            बिरालो हुँ म चिन

कुकुरः     नगर् धेरै फूर्ति
                मलाई प्यारो धर्ती
        चढ्दिनँ म माथि
        धर्ती मेरो साथी ।


निष्कर्षः

नेपाली बालसाहित्यको अन्वेषणमा निरन्तर लागिपर्ने प्रमोद प्रधानका बालकविताहरूमध्येबाट केही प्रतिनिधि बालकविताका रूप्मा यी कविताहरू चयन गरिएका हुन् तर उनको सिङ्गो बालकाव्यकारिताको मूल्याङ्कनका लागि समग्र कृतिकै अध्ययन गर्नुपर्ने हुन्छ । यस आलेखमा त केवल सितो छाम्ने प्रयास मात्र गरिएको हो । विश्लेषणका लागि छानिएका यी बालकविताहरूमध्ये ‘काना काना कुर्र’ बालकविता सङ्ग्रहमा सङ्गृहीत ‘घाम राजा र जून रानी’ बालकवितामा प्रकृतिको मानवीकरण गर्दै बालबालिकाले प्रकतिसँगबाट गर्ने स्नेहको अपेक्षा र उनीहरूमा हुने कल्पनाशीलताको उजागर गरिएको छ; ‘कान समात् कान’ बालकविता सङ्ग्रहमा सङ्कलित ‘कपासको खेती’ बालकवितामा पनि प्रकृतिचित्रण र कल्पना पक्षलाई नै जोड दिइएको छ भने ‘¥याइँ ¥याइँ सारङ्गी’ बालकवितासङ्ग्रहमा सङ्कलित ‘कुकुर र बिरालो’ बालकवितामा छोटो आयाम र संवादात्मक शैलीमा कुकुर र बिरालो जस्ता प्राकृतिक प्राणीको स्वभाव एवम् स्वतन्त्रता, स्वाभिमान र जीवनरक्षाको सन्दर्भलाई बालसुलभ सरल भाषामा देखाउन खोजिएको छ । 

– भोर्लेटार, लमजुङ          साभार: https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-samicha/37992/........................................................


No comments:

Post a Comment