कवि बुँद राना र उनका प्रतिनिधि बालकविताको विश्लेषण
कवि बुँद राना |
– रमेशचन्द्र घिमिरे |
यहाँ यिनै बालसाहित्यकार बुँद रानाका ‘खै गुजी’ ?, ‘पुष्टकारी’ र ‘चना चटपटे’ बालकवितासङ्ग्रहभित्र
सङ्गृहीत क्रमशः ‘पोखरा र चरा’, ‘गुजी पाएँ’ र ‘चना चटपटे’ गरी तीन वटा बालकविताको विश्लेषण गर्ने
प्रयास गरिएको छ ।
१. पोखरा र चरा-
कवि बुँद रानाको ‘पोखरा र चरा’ बालकविता उनको ‘खै गुजी ?’ बालकवितासङ्ग्रहमा सङ्गृहीत
प्रकृतिचित्रणात्मक उत्कृष्ट बालकविता हो । संवादात्मक शैली र आख्यानात्मक
संरचनामा लेखिएको यस बालकवितामा प्रकृतिको मानवीकरण गरिएको छ र नेपालको दोस्रो
ठूलो सहर पोखराको सुन्दर दृश्य र सुरम्य वातावरणको झल्को दिइएको छ । कविताको
भावार्थ यस्तो छः
काफलको रुखमा बसेको घुमन्ते चरोलाई
पाल्पाबाट पोखरा जाने रहर पलाउँछ । पोखरामा गएपछि उसले माथि हिमाली दृश्य तथा तल
फेवातालको सौन्दर्य देख्ने अवसर प्राप्त गर्दछ । उसको फेवातालको माछासँग भेट हुन्छ
अनि भेटका क्रममा मााछाले चरासँग प्राकृतिक भाषामा पोखरा आएपछिको अनुभूति सोध्छ ।
चराले ज्ञानी मान्छेले झैँ आफ्नै पारामा काफल, सुन्तला र आलुबखडा जस्तो छ; पोखरा पनि त्यस्तै रसिलो र मीठो भएको अभिव्यक्ति दिन्छ ।
कविता यस्तो छः
प्रस्तुत कवितामा कल्पना पक्षको प्रबलता पाइन्छ । मान्छेले झैँ माछा र चराले बोलेको सन्दर्भमा एकातिर प्रकृतिको मानवीकरण त छँदैछ अर्कातिर रमाइलो कल्पना पनि उत्तिकै छ । काफल, सुन्तला र आलुबखडा जस्ता विभिन्न फलफूलको प्रसङ्गले उनका कवितामा पोखराको मौसम, त्यहाँको हावापानी र सिङ्गो पोखरा नै रसिलो छ भन्ने खालको अभिव्यक्ति र अतिशयोक्ति अलङ्कारको दोहोरो प्रयोग भएको पाइन्छ । .कवितामा अन्त्यानुप्रासको सफल प्रयोग देखिन्छ भने सुन्दरताको बखान पनि पाइन्छ ।
२. गुजी पाएँ-
कवि बुँद रानाको ‘गुजी पाएँ’ बालकविता उनको ‘पुष्टकारी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत चेतनामूलक
उत्कृष्ट बालकविता हो । यस बालकवितामा पनि कविले आख्यानमिश्रित संवादात्मक शैलीको
रोचक प्रयोग गरेका छन् । बालबालिकाकालाई अन्धविश्वासको जालोमा रुमलिने वातावरण
अभिभावकले सिर्जना गर्न नहुने सन्देश प्रस्तुत गर्नु यस बालकविताको उद्देश्य हो ।
कवितामा बालकलार्ई साहसी बनेको देखाइएको छ र अन्धविश्वासी चेतबाट माथि उठ्नुपर्ने अप्रत्यक्ष सन्देश
दिँदै आँटी बन्न उत्प्रेरित समेत गरिएको छ । बालबालिकाको कलिलो बाल मस्तिष्कमा
अभिभावकले झुटा कुरा भरेर विषवृक्ष रोप्नु हुँदैन भन्ने नैतिक सन्देश दिइएको यस
कवितामा आफ्नै बालबालिका (नाति) लाई पराईको व्यवहार गर्ने अभिभावक (बज्यै) प्रति
व्यङ्ग्य गर्नसमेत खोजिएको छ र आकस्मिक समापनका साथ रहस्यको अन्त्य गरिएको छ ।
कविताको भावार्थ यस्तो छः
घरमा बनाइएका परिकार नातिले खाएर
सिध्याउँछ कि भन्ने पिरलो हजुरआमालाई छ । त्यसै भएर नातिलाई भँडार कोठामा नजानका
लागि उनले अनेक तानाबाना बुनेकी हुन्छिन् । यतिसम्म कि अँध्यारामा गुजी वा भूत
हुन्छ भनेर उनले सातो लिन खोजेकी हुन्छिन् । तर नाति केटोको स्वभाव अर्कै छ ।
हजुरआमाले भनेका कुरामा ऊ शङ्का गर्छ र झट्ट विश्वास गरिहाल्दैन अनि गुजी कस्तो
हुन्छ थाहा पाउनु प¥यो भन्ने झोक पनि उसमा चल्छ । आँटी, साहसी र जिज्ञासु बालक (नाति) ले कुनै
पनि कुराको परीक्षण गरेपछि मात्र बल्ल प्रमाणित हुन्छ भन्ने सोच राख्छ । आफ्नी
हजुरआमा (बज्यै) ले अँध्यारामा जानुहुँदैन भनेर बारम्बार भनेपछि उसलाई जाँदा के
फरक पर्छ र भन्ने सोच मनमा पलाउँछ । उसलाई गुजी कस्तो हुँदो रहेछ हेर्ने इच्छा
जागृत हुन्छ । आज पनि बज्यैले आँटीमा नजानका लागि सम्झाएपछि उसले जेसुकै होस्; एकचोटि गुजी त हेर्नै पर्यो भनेर दियालाको उज्यालाको सहाराले चुपचाप चोरको चालका
आँटीमा पुग्छ । जब उसले त्यहाँ सोलीभरि सेल रोटी देख्छ ऊ दङ्ग पर्छ र तुरुन्तै
कुरा बुझिहाल्छ । त्यहाँबाट एउटा सेल रोटी टिपेर हातमा लिन्छ अनि बज्यैछेउ पुगेर
हाँस्दै भन्छ — ‘इ बज्यै मैले गुजी पाएँ ।’
अत्यन्त रमाइलो शैलीमा लेखिएको प्रस्तुत कविता यस्तो छः
के हो गुजी कस्तो हुन्छ नदेखेको मैले
आज फेरि भन्नुभयो सम्झाउँदै राति
‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’
गुजी हेर्ने रहर थियो नदेखेको कैल्यै
एक टुक्रा दियालोको झोसेँ आगो मैले
चुपचाप चोर–चाल आँटीमाथि पुगेँ
सोलीभरि सेल देखी बल्ल कुरा बुझेँ
यौटा सेल टिपी दौडी बज्यैछेउ आएँ
हाँस्तै भनें– ’इ बज्यै ! मैले गुजी पाएँ !’
हास्य रसको प्रयोग गरिएको यस बालकवितामा अन्त्यानुप्रासको सफल प्रयोग भएको देख्न सकिन्छ । सङ्क्षिप्त शब्दशैयामा पूर्णता पाइनु र कवितासँगै आख्यानको मिठास भेटिनु यस बालकविताको विशेषता हो ।
३. चना चटपटे-
कवि बुँद रानाको ‘चना चटपटे’ बालकविता उनको ‘चना चटपटे’ नामकै बालकवितासङ्ग्रहमा सङ्गृहीत रहस्यमूलक उत्कृष्ट बालकविता हो । आख्यान, संवाद, द्वयार्थकता र कौतुहलताको प्रयोगले यो बालकविता अत्यन्त रोचक बन्न पुगेको छ । कविताको भावार्थ यस्तो छः
झिनो आख्यान रहेको यस बालकवितामा राजु र
सुजिता दाजु–बहिनी पात्रको संवादबाट कथानक अगाडि
बढेको छ । दाजुले बहिनीलाई झोलामा के छ भनेर जिज्ञासा राख्दा बहिनीले झोलाभित्र
चना–चटपटे छ भनेर उत्तर दिएकी छे । चना
चटपटेको नाम सुनेपछि राजुले अत्तालिएको स्वरमा चटपटेमा मसलाको धूलो हालिन्छ, पिरो भएर ठूलो पीर पार्छ त्यसैले चना
चटपटेको सट्टा पचाउन सजिलो खानेकुरा खानेकुरा खानुपर्छ भन्दै बहिनीले झोलामा
ल्याएको चना चटपटेलाई झट्ट फालिहाल्न आदेश दिन्छ । दाजुले कुरै नबुझी एकोहोरो
बोलेपछि बहिनीले झोलाबाट एउटा किताब निकालेर देखाउँछे । आखिर चना चटपटे त किताबको
नाम पो रहेछ भन्ने कुरा दाजुलाई थाहा हुन्छ र हत्त न पत्त लाजले मोटर साइकल चढेर
कुलेलम ठोक्छ ।
रहस्यको आकस्मिक समापन गरिएको प्रस्त्त बालकविता यस्तो छः
भन–भन के छ
दाजु मेरो झोलामा
चना–चटपटे छ ।
सुनेपछि नाम
भन्न थाले राजुले–
हरे राम–राम !
मसलाको धूलो
मसलाको धूलाले
पीर पार्छ ठूलो
खाजा खानुपर्छ
झट्टै फालिहाल त्यो
त्यल्ले हानि गर्छ
झट्ट हात हालिन्
झोलाबाट झिकेको
देखाउन थालिन्
थियो तिनका हात
राजुलाई खसेझैँ
भयो छाँगाबाट
कवि बुँद रानाको प्रस्तुत बालकवितामा ‘चना चटपटे’ शब्दले दोहोरो अर्थ बुझाएको हुँदा श्लेष अलङ्कारको प्रयोग भएको पाइन्छ । दोहोरो अर्थ बुझाएकै कारणले पनि कविता थप रोचक बन्न पुगेको हो । अन्य बालकवितामा झैँ उनको यस बालकवितामा पनि अन्त्यानुप्रासको सफल प्रयोग भएको पाउन सकिन्छ । बालपात्र राजुको बुझाइमा बजारिया खानेकुराले स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा मानिस स्वास्थ्यप्रति अत्यन्तै सजग हुनुपर्छ भन्ने नैतिक सन्देश समेत कविताले दिएको छ भने बालपात्र सुजाताले गरेको रहस्योद्घाटन अनुसार कुनै पनि कुरालाई आफ्नो सुरले मात्र अर्थ लगाउनुहुँदैन, बुझेर बोल्नु पर्छ र हतारिनु हुँँदैन भन्ने सल्लाह पनि कविताले दिएको छ ।
निष्कर्षः
बालबालिकाले पढ्ने बालकविता श्रुतिमधुर र
रमाइलो हुनुपर्छ भन्ने बुझेका बालसाहित्यकार बुँद रानाका माथिका विवेच्य
कविताहरुमा आख्यान, संवाद, कुतूहलता, हास्यपरकता, आनुप्रासिक छटा आदिको संयुक्त र रोचक
प्रयोग पाइन्छ । उपर्युल्लिखित कविताहरुमध्ये ‘पोखरा र चरा’ बालकवितामा प्रकृतिको मानवीकरण गर्दै
सुन्दर नगरी पोखराको स्थान परिचय गराइएको छ र ‘गुजी पाएँ’ बालकवितामा अन्धविश्वासी सोचको विरोध
गर्दै बालपात्रमा हुने साहसी भावनाको कदर गरिएको छ भने ‘चना चटपटे’ बालकवितामा बजारिया पत्रु खाने कुरामा
जोड दिनुभन्दा नयाँ–नयाँ पुस्तकको अध्ययनमा जोड दिनुपर्छ र
बोल्दा विचार पु¥याउनु पर्छ भन्ने अप्रत्यक्ष सन्देश पनि
दिन खोजिएको छ ।
No comments:
Post a Comment