हराएको सियो
रमेशचन्द्र घिमिरे |
कता पर्यो कुन्नि कमिज सिउने सियो
छोटो सुइरोमाथि आँखाजस्तै दुलो
हेर्दाखेरि सानो तर काम ठूलो
लामो पुच्छ्रे धागो फलामको मियो
खस्यो कति बेला जामा सिउने सियो
उध्रिएका लुगा सिलाउँथ्यो यसले
फुस्किएका टाँक मिलाउँथ्यो यसले
खोज्दा पाइएन कसले पायो लियो ?
भेटिएन अझै लुगा सिउने सियो
जब पैतालामा काँडा-छेस्का बिझ्छ
काँडा बनी आफै, आफै काँडा झिक्छ
गुन्द्री चेपमा छ कि गर बाबु चियो
कता पर्यो लौ न नाना सिउने सियो
यसै छोड्नुहुन्न नत्र चस्स घोच्छ
दिन्छु बरु पैसा जसले सियो खोज्छ
यसो भनेपछि भाइले बाल्यो दियो
भेटिएछ बल्ल झोला सिउने सियो ।
No comments:
Post a Comment