मोहनहरि पौडेल |
मिदिम खोला एक : विकल्प अनेक
हाम्रो मध्यनेपाल नगरपालिकाको वडा नं. ६ भोर्लेटार, वडा नं. ९ बाङ्ग्रे र वडा नं. ७ ईशानेश्वर वडा नं. ८ करापुलाई दुईतिर पारेर मिदिम खोला बगेको छ । हिमाल वारिका लमजुङ भुजुङ क्षेत्र यसको मुहान हो ।मिदिम खोलाका बारेमा विभिन्न सन्दर्भमा फरक फरक ढंगले चर्चा गरिएको छ । मिदिम खोलालाई वैज्ञानिक व्यवस्थापन गरी सही उपयोग गर्न नसकिएको कारण आजसम्म यसलाई राक्षसी खोलाको रूपमै बढी चित्रण हुने गरेको छ । तथापि यसको ऐतिहासिक, धार्मिक महत्व हुनुका साथै आजको युगमा कृषि, ऊर्जा, वातावरण, पर्यावरणको हिसाबले यो खोला निकै महत्वपूर्ण छ ।
करिब तीन दशक अघि ‘ह्वाङ्हो’ नदीलाई चीनको दुःख मानिन्थ्यो । तर चीनले त्यस नदीबाट धेरै वटा हजारौं मेघावाटका हाइड्रोसहित बहुउपयोगी (मल्टीप्रपोज) प्रोजेक्टहरू सञ्चालन गरी ह्वाङ्हो नदीबाट मात्रै लाख मेघावाट विद्युत उत्पादनलगायत सिञ्चाइका लागि समेत हुने गरी उपयोग गरको छ । यस्तो (मल्टीयुज) बहुउपयोगी प्रणालीबाट आज ह्वाङ्हो नदी चीनको भाग्यका रूपमा रूपान्तरण भएको छ । हुन त मिदिम खोलालाई ह्वाङ्हो नदीसँग तुलना गर्न नमिल्ला तथापि यसबाट हामीले धेरै सिक्न सक्छौं । हाम्रो दुःखका रूपमा रहेर खेर गइरहेको मिदिम खोलालाई पनि बहुउपयोगी तरिकाले उपयोग गर्न सकिन्छ ।
हामी सानो छँदा चतुराखर घिमिरेले मिदिम मादी थुनेर बिजुली निकाल्नुपर्छ भन्नुहुन्थ्यो । त्यस जमानामा उहाँले बिजुली देखेर भन्नुभएको थियो या सुनेर ? विगत सम्झँदा म अचम्मित हुन्छु । कसैले नदेखेको, नसुनेको नौलो नौलो कुरा लहडी पाराका मान्छे देखेर गाउँलेहरू उहाँलाई बौलाहा भन्थे । मिदिम खोलामा त्यसउप्रान्त धेरै पानी बगिसकेको छ । आज धेरै प्रविधिहरू आइसकेका छन् तर पनि घिमिरेबा जस्तै सपनाद्रष्टा, आधुनिक बौलाहा ? हाम्रो समाजले उत्पादन गर्न, चिन्न सकेको छैन । मिदिम खोलाको वहाव उस्तै छ । हाम्रो सोच्ने गर्ने तरिका उस्तै छ । बरु हिजो जस्तो स्वयंसेवी भएर सामाजिक काम गर्ने होइन कि पद, शक्तिको दुरूपयोग गरी राज्यको सम्पत्ति दोहन गर्ने प्रतिस्पर्धा बढेको छ । मिदिम खोलाले खेत भत्काएर बगर बनाइदिएको छ । बाली बढारिदिएको छ । धनजनको क्षति भएको छ । तथापि आजसम्म यसको सही व्यवस्थापन गरी कुनै ठोस उपलब्धी लिन सकिएको छैन ।
नाल्मा फेदी, बरदनबेसीदेखि थर्पु, मिदिम दोभानसम्म मिदिम खोलाले सयौं रोपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ । यसको वैज्ञानिक नाप हुन बाँकी नै रहे पनि प्रारम्भिक अनुसन्धान अनुसार पन्ध्र हजार रोपनी भन्दा बढी जमिन यस खोलाले बर्बाद गरेको छ । त्यसरी नै भोर्लेटार तथा करापुटार सिञ्चाइ नहरहरूलाई पुर्ने, भत्काउने गरी निरन्तर क्षति पु¥याउँदै आएको छ ।
मिदिम खोला नियन्त्रणको नाममा केही वर्षयता वर्षेनी केही रकम नेपाल सरकारबाट विनियोजित हुँदै आएको छ । सुनिन्छ यस वर्ष पनि मोटो रकम प्राप्त भएको छ । अब हामीले गम्भीरतापूर्वक सोचेर काम गर्नुपर्नेछ । अनियन्त्रित रूपले बग्ने राक्षसी खोलामा कुनै ‘वृहत एकीकृत कार्यक्रम’ विना कहिले कतै कहिले कतै गरी खोलाको सतहमा सामान्य खोस्रीखास्री पारेर केही थान जाली भरी राष्ट्रिय सम्पत्तिको दुरूपयोग गर्ने र केही सीमित व्यक्तिहरू मेटाउने बाहेक अन्य उपलब्धि भएको छैन । हुँदैन पनि ।
अब मिदिम खोला जलाधार क्षेत्रमा ‘मिदिम खोला एकीकृत विकास परियोजना’ निर्माण गरी सञ्चालन गर्नुपर्नेछ । यसका लागि डीपीआर तयार गरी कार्यान्वयन गर्नुपर्छ । यसका लागि गर्न सकिने र गर्नुपर्ने कार्यहरू निम्न अनुसार हुन सक्छन्–
१. भोर्लेटार, करापुटारतिर लगिएका नहरहरूलाई पुनः निर्माण गरी व्यवस्थित गर्ने ।
२. पञ्चायत कालको अन्त्यतिर पञ्चायती रापंस लेखनाथ अधिकारीको पहलमा पिस्ती खोलाबाट नहर खनी गुम्बाबेसी, पराजुलीबेसी, न्यौपाने बेसी हुँदै रम्घाटारसम्म पानी पु¥याउने योजना सुरु भएको थियो । केही ठाउँमा हिल कटिङको काम भइसकेको थियो । पञ्चायती व्यवस्थाको अन्त्यसँगै त्यस योजना पनि हरायो । व्यवस्था र सरकारमा अदलीबदली भएता पनि विकास योजनाहरू यसरी अलपत्र नहुनु पर्ने हो । अब भोर्लेटार सिञ्चाइ नहरको पुनः र वृहत निर्माण गरी मिदिम खोलाको पानी ल्याएर चारसय (रानीपानी) बाट पानी छुट्याई आवश्यक पानी सिञ्चाइका लागि छाडेर चारसयवाट पिस्ती खोला जमदारेतिर पानी खस्ने गरी बिजुली उत्पादनका लागि पावरहाउस बनाउने र त्यसबाट खसेको पानीलाई लेखनाथको पालामा खनेको नहरको योजनालाई निरन्तरता दिएर रम्घाटारसम्म पानी पु¥याएर सिञ्चाइ सुविधा उपलब्ध गराउने ।
३. करापुटार सिञ्चाइ योजनालाई पनि व्यवस्थित गरी त्यहाँ सञ्चालन गर्न खोजिएको विद्युत उत्पादन कार्यलाई पनि सहयोग पु¥याउने ।
४. यसरी मिदिम खोलाको पानीलाई दुईतिर डोहोर्याएपछि बाँकी रहने खासगरी वर्खायामको पानीलाई साइजमा बहने गरी मिदिम खोलाको दुवैतिर बलियो बाँध बाँध्ने । बाँधको माथिबाट मोटर गुड्न मिल्ने बाटो बनाउने, बर्खामा बगेर आई अवरोध गर्न सक्ने रुखपात, ढुंगामाटोलाई तत्कालै हटाउन मेसिनहरू त्यारीमा राख्ने । यसरी खोलाको पानीलई तीनतिर विभाजन गरी यसको बहावलाई व्यवस्थापन गर्न सकिन्छ ।
५. खोलाको बहावलाई व्यवस्थापन गरिसकेपछि दुवैतिर रहेको विशाल जमिनलाई व्यवस्थापन गरी ठूला ठूला पोखरीहरू निर्माण गरी माछा पालन गर्ने, मत्यविकास केन्द्र, भुरा स्रोत केन्द्रका रूपमा विकास गर्न सकिन्छ । चिसो पानीको खोला भएकोले रेन्वो ट्राउट जस्ता बढी मूल्य पाइने माछा पाल्न पनि सकिन्छ । ठूलठूला खेतहरू बनाएर मेसिनको प्रयोग गरी खाद्यन्न बालीहरू धान, गहूँ, मकै, दलहन, तेलहन उत्पादन गर्न सकिन्छ । त्यसरी नै तरकारी खेती, उखुखेती गर्न सकिन्छ । जसले मध्यनेपाल नगरपालिकाको मात्र होइन देशको राष्ट्रिय उत्पादनमा राम्रो योगदान दिन सक्छ ।
६. यसरी खोला व्यवस्थापन गरी विद्युत उत्पादन, खाद्यन्न उत्पादनमा लाग्दा हामीले चाहना गरेको र आवश्यक रहेको स्थानी स्वाँरा, लक्ष्मीबजार जोड्ने मोटरयवल पुल निर्माणका लागि दुरी पनि छोटो हुने हुँदा पुल निर्माण कार्य सम्पन्न र सम्भव र सस्तो पनि हुन आउँछ । जसले अहिले असम्भव देखिएको झोलुंगे पुललाई पनि विस्थापन गर्न सक्छ । अवश्य नै यस बगरमा रहेको जमिनप्रति मात्र होइन यस खोलाका आसपास बस्ने किसान दाजुभाइका नाममा धनी पूजा भएका जमिनहरू छन् । यस खोलामा ‘एकीकृत विकास परियोजना’ सञ्चालन हुँदा जमिन उपयोगको लागि सबैको अधिकार संरक्षित हुने र फाइदा हुने गरी विधि तय गर्नुपर्ने हुन्छ ।
परम्परागत ढङ्गले बगरमा जाली भर्ने, अर्काे साल खोलाले बगाउने फेरि भर्ने र फेरि बगाउने चक्रले जाली मात्रै होइन कि हाम्रो राष्ट्रिय सम्पत्ति बगाइरहने परिवर्तित र समृद्धिका हाम्रा चाहना आकांक्षा पनि बगाउने भइरहेको छ । खोला नियन्त्रण हुन पनि सक्दैन । यसको सही व्यवस्थापनबाटै हामी सबैको कल्याण हुन्छ । देश समृद्ध पनि हुन्छ । त्यसैले अब हाम्रो विकासको दिशा मिदिम खोला जलाधार एकीकृत विकास परियोजनातिर हुनुपर्छ ।
No comments:
Post a Comment