प्रोल्लास सिन्धुलीयको फेसबुकबाट ...
०५२–५३ सालतिर पहिलो पटक हामीसित चिनाजान हुँदा यिनी राम्रो कविका रूपमा राष्ट्रिय स्तरमै स्थापित भइसकेका थिए । हामी अर्थात् Rabindra Sameer, Deepak Kathit, Khadga Sen Oli, Bibas Basti, Basu Kshitiz, Kusum Gyawali, Sudha Basnet, Narayan Shrestha, Padam Gautam, Bhavesh Bhumari, Prollas Sindhuliya लगायतको बडो आत्मीय साहित्यिक नेटवर्क थियो काठमाडौँमा ।
भोर्लेटार (लमजुङ) घर भए पनि यिनी पोखरातिरै बस्थे । त्यसबखत Bhupeen Khadka, सरस्वती श्रेष्ठ सरु, Ramesh Chandra Ghimire, Deepak Sameep, Prava Baral, Ramesh Shrestha, Roshan Sherchan लगायतसँग हाम्रो निकै गहिरो घनिष्ठता थियो । यिनैले अघिल्लो पुस्ताका Sarubhakta Shrestha, Prakat Pageni Shiva, Tirtha Shrestha, Haridevi Koirala, इन्द्र राना ‘प्रतीक’ जस्ता शक्तिशाली सर्जकहरूसँग पनि हाम्रो निकटता बढाइदिएका थिए ।
यिनी मौसमी कवि होइनन्, थिएनन्, रहेनन् । रहे-भएका भए २२–२३ वर्षअघि नै यत्तिको कविता लेख्न सक्ने मान्छे, अहिलेसम्म छायाको छायामै रहने थिएनन् । अहिले नेपाली भाषाका विद्वान् भइसकेका उनका लागि यो कवितामा रहेका भाषिक त्रुटि अर्थात् छन्द मिलाउन ह्रस्वलाई दीर्घ, दीर्घलाई ह्रस्व पारिएका कुरा सच्याउनु कुनै आइतबार थिएन । अथवा, मै पनि मिलाइदिन सक्थेँ । तर, किनकिन यो कवितालाई ‘अर्गानिक’ अवस्थामै यहाँ हाल्न मन लाग्यो ।
अचेलको कुनै ‘चर्चित कविता’लाई भाँचभुँच पारेर भर्खरै लेखिएजस्तो लाग्ने उनको यो कविता यहाँ जस्ताको तस्तै साभार गरेको छु ।
नराम्रो लागे मलाई सुटुक्क भन्नुहोला, राम्रो लागे कविलाई सीधै फिडब्याक दिनुहोला है !
“फर्केर आऊ घर”
- रमेशचन्द्र घिमिरेबाबा छन् घरमा सिकिस्त अहिले, आमा भइन् चिन्तित
डुब्दै छौँ पिरमा जहान घरका, छैनौँ खुसी किञ्चित
प्यारो दाजु नदेखिँदा सबजना रुन्छन् कठै धर्धर
सम्झी भाइ, बुबा, मुमा र बहिनी फर्केर आऊ घर ।।१।।
त्यो कोलाहलमा प्रदूषण भई हल्ला र धूलोमहाँ
हुन्छन् खल्बल रे अशान्त झगडा, हुन्छन् लडाईं त्यहाँ
छोडी त्यो धमिलो धुलो शहर लौ छिट्टै बसाईं सर
माटोको ममता लिई मुटुभरी फर्केर आऊ घर ।।२।।
यी खोला–छहरा पहाड पहरा पानी–पँधेराहरू
साह्रै सुन्दर छन् अनन्य धरती पाखा–पखेराहरू
यो बस्ती छ सफा र गाउँ सुकिलो यो ठाउँ हो सुन्दर
सम्झी जो परिवेश बालक छँदा, फर्केर आऊ घर ।।३।।
रोप्नू हिम्मत यी गराभरि तथा बाँझो रुखो पर्तिमा
छर्नू पौरखको बिऊ र पसिना पोख्नू यही धर्तिमा
खन्नू खेत कुटो लिई अब यहाँ, पर्नू स्वयम् निर्भर
बिर्सी च्याट्ट पराइको शहर त्यो, फर्केर आऊ घर ।।४।।
छाडी सुन्न विचार मूर्खहरुको छड्केर आऊ घर
ती बाधा व्यवधानलाइ सहजै फड्केर आऊ घर
त्यागी दुष्ट तथा छुचो नियत त्यो तर्केर आऊ घर
भो धेरै नभनूँ, फरक्क अहिले फर्केर आऊ घर ।।५।।
००
(‘तनहुँ आवाज’ पत्रिकामा २०५४–३–१६ मा प्रकाशित)
छन्दः शार्दूल–विक्रीडित
थप हेर्न तल राखिएको लिङ्क थिच्नुहोस् :
https://m.facebook.com/story.php?story_fbid=10219084846891263&id=1208771668
कवि राजिन पनेरूको सुमधुर स्वरमा कविता सुन्नको लागि यो लिङ्कमा जानुहोस् :
https://youtu.be/YhWSujX86ds
No comments:
Post a Comment