एउटी बृद्धा र म (कथा)
नानी बिबु |
'अहो ! को हो ?' अचल रहेर कान ठाडा पार्दै बाहिर ध्यान दिएँ । सबैको ध्यान बाहिरको आवाजमा केन्द्रित भयो ।
बाहिरको त्यो चर्को आवाज 'किन्ने हो ?? किन्ने हो ??' तोते बोली अलिक अस्पष्ट आवाज चिनेको जस्तो लाग्यो ।
बाहिरको त्यो चर्को आवाज 'किन्ने हो ?? किन्ने हो ??' तोते बोली अलिक अस्पष्ट आवाज चिनेको जस्तो लाग्यो ।
'ऊ हो के... ममी बोलाम् है ?' भन्दै भाइ ढोकातिर दगुर्यो ।
'ह्या छोड्दे छोड्दे पर्दैन भो त्यही बुढी हो के, केही किन्नु छैन ।' ममी भो भो भन्दै हुनुहुन्थ्यो । 'बोला बोला...' भन्दै म पनि ढोकास्मम पुगे ।
ढोकामा पुगेर हेर्दा बाटोमा तिनै कान नसुन्ने तोते बुढी रहिछन् । लेकाली जडिबुटीहरु बेच्न हिँडेकी एकल बृद्धा जो धेरै पटक नै यता आइसकेकी थिइन् । हरेक पटक यता आउँदा मैले जेठिमधु किन्थेँ ।
भाइले ढोका खोलेर 'एता ! एता!' भन्दै चिच्यायो, तर ती कान नसुन्ने बुढीले सुन्दै सुनिनन् ।
"किन्ने हो ? किन्ने हो ? के चाहिया छ ?' भन्दै एउटा घरतिर लागिन् । त्यो घरकी बहिनी 'हैन हैन चाहिया छैन।' भन्दै हात हल्लाउँदै थिई । बिचरा बुढी 'हँ ! हँ! के चाहियो ? के चाहियो ? के किन्नी ?' भन्दै गइन् ।
हामी हाँस्यौँ ।
'नानी यता पठाइदे त !' भाइले त्यो बहिनीलाई भन्यो ।
'उता किन्ने रे उता ' हामी तिर इसारा गर्दै बहिनी ले ती बुढीलाई हाम्रो घरतिर पठाइदिइन् ।
आबाज तोते र अलि अस्पस्ट सुनिन्थ्यो । म कान सुन्दिनँ भन्दै हामीतिर आइन् ।
'किन्नी हो ? किन्नी हो ? कान थुन्दिन । म कान थुन्दिन । के ताइयो ?"
किन्नु पर्ने त खासै केही थिएन। बृद्धाको तोते अस्पष्ट बोली हिँडाइ देखेर हाँसो उठ्यो । हामी हाँसेपछि 'हँ ! हँ! म कान थुन्दिन । के ताइयो ?' भन्दै नजिकै आइन् ।
'उफ्फ ! किन बोलाका होलान् तेत्तिकै के किन्नी हो र तेसै भुलाइदिएर बिचरा ?' ममीले केही किन्ने चासो देखाउनुभएन ।
'हैन के ममी केही त किन्दिम्
' मैले हातले इसारा गर्दै बुढीलाई बस्न आग्रह गरेँ । बुढी बसेर आफ्नो सामानको पोको फुकाउन थालिन् ।
भाई- 'त्यो ऊ किनम् न त्यो के अरे ? तैले किन्थिस् नि काठ जस्तो मिठो हुनी के ।'
'जेठी मधु?'
'हो, अँ जेठी मधु , जेठी मधु छ ??'
बुढी तोते बोलीमा - 'देथिमधु ? देथिमधु थ थ।'
बुढी कपडाका पोका फुकाउँदै जडिबुटी चिनाउँदै बिज्ञापन गर्दै थिइन् । भाइ खुब चाख दिएर बुढीले ल्याएका जडिबुटी हेर्न थाल्यो ।
मलाई भने पहिले नै थाहा थियो बुढीसँग यस्ता जडिबुटी छन् भनेर । शिलाजित, ५ औँले, निर्मसी, यार्चागुम्बा हिङ जिम्मु ,जाइफल , जेठी मधु टिमुर , सिल्टिमुर, सिरेनुन ,बिरेनुन, हर्रो, बर्रो धुलो औषधीहरु यस्तै यस्तै थुप्रै जडिबुटीहरु ल्याउँथिन् ।
यी बृद्धा अरुभन्दा फरक छिन् । समूहमा नहिँडेर एक्लै एक्लै हिड्ने गर्छिन् ।
'घर कहाँ हो ?' भनी सोध्दा 'जहाँ बस्यो त्यहीँ हो' भन्थिन् ।
'एक्लै हो ? साथी कता छन् त ?' भनी सोध्दा 'छैन । कोही पनि छैन मेरो। म त एक्लै हो। म त सधैँ एक्लै हो ।' भन्थिन् ।
उनको ब्यापार नीति पनि अरुको भन्दा फरक छ । आफूले ल्याएका अमूल्य जडिबुटीहरु महङ्गोमा बेचेर मनग्य नाफा कमाऊ भन्ने उद्देश्य उनमा छैन । रोगी बिरामीहरु अनि जडिबुटी आवश्यक परेकाहरूलाई उनीहरूको आवश्यकता पुरा गरिदिनु नै उनको उद्देश्य हो । उनी आफूसँगका अमुल्य जडिबुटीको सुहाउँदो मूल्य तोक्छिन् । कसैले 'मसँग त्यति पैसा नि छैन तर मलाई यो चाहिएको छ' भन्यो भने उसको आवश्यकता पुरा गरिदिन नाफा घाटाको कुनै पर्वाह नै नगरी जति छ त्यतिमा नै दिन्छिन् ।
अघिल्लो पटक आउँदा म अलि बिरामी थिएँ । पुसको महिना थियो । रुघाखोकी चिसोले समातेको थियो । 'घाँटी दुखेको छ मेरो । नुन पानी तताएर खानु पर्यो । मलाई अलिकति सिरेनुन दिनु न । ' मैले भनेँ ।
बुढीले '१० रुप्ये १० रुप्ये ' भन्दै एउटा कागजमा अलिअलि सिरे नुन पोको पारिन् ।
'जेठी मधु छ ? मलाई जेठी मधु नि चाहिया छ ।'
'थ थ देथिमधु थ । यी एउताको दथ रुप्ये हो ।' बुढीले जेठी मधु पनि झिकिन् ।
'मलाई कस्तो पेट दुख्छ ग्यास्टिक भ´को छ के आमै, के खाने होला? पेट दुखेको औषधी छ ?'
'थ थ यी यो धुलो थ । चट्टै हुन्च तातो पानी साँ खा बिहान बिहान चट्टै हुन्च ।'
८,१० चम्चा धुलो कागजमा पोको पारिन् । '१० रुप्ये १० रुप्ये।' भन्दै थिइन् ।
'मेरो पेट त धेरै दुख्या छ के आमै, अल्लि धेरै राखिदिनु न धेरै दिन खान पर्यो ।' मैले अलि थपिदिन आग्रह गरेँ ।
'धेरै चाहियो ? धेरै चाहियो ? ल ल' भन्दै २ चम्चा धुलो फेरि थपिन् । 'ल ल पुग्च पुग्च चट्टै हुन्च । एती खा । बिहान बिहान खा है तातोपानी साँ ।' भन्दै दिइन् ।
मैले २० रुपैयाँ को नोट झिकेर दिएँ ।
' तिथ रुप्ये भो । तिथ । '
'तिस हो ?'
'हो ।'
'मसँग यत्ति छ । छैन नि तिस त । '
'छैन ? छैन ? हो छैन ?'
'अहँ ! छैन यत्ति हो ।'
बिचरा मसँग छैन भनेपछि तिसको सामान बिसमा खुरुक्क दिएर गएकी थिइन् ।
त्यति नै बेला एउटा दाइले 'यार्चागुम्बा छ ?' भनी सोधेका थिए । 'थ थ यार्चा थ' भन्दै यार्चा झिकिन् ।
'कति हो ?' दाइले सोधे ।
'एउताको चार सय । '
'सयमा आउँदैन ?'
'आउँदेन आउँदेन चार सए हो चार सय '
'म सँग सय छ क्यार्नी त आउँछ होला' दाइले बार्गेनिङ् गरे ।
'आउँदैन , सय मात्रै छ ? आउँदैन सयमा आउँदैन । '
'ऐया कस्तो जिउ दुख्या छ । बिरामी छु यार्चागुम्बा चाहिया´थ्यो आफूसँग सय मत्रै छ ।' दाइले बिरामी भएको नाटक गरे।
'चाहिया हो ? चाहिया हो ?' दाइको नाटकले बुढी भावुक भइन् । 'अरु छैन ? अरुसँग नि छैन ?'
अरुसँग पैसा भए थपिदिए हुन्थ्यो भन्ने आशयले बुढीले त्यहाँका अरुसँग पैसा छ ? सोधिन् । सबैले छैन छैन भनिदिए ।
सबैले छैन छैन भनेपछि 'सानो नि आउँदैन सयमा ' दाइले थपे । 'सानो ?, सानो दिम् ?' बुढीले सानो एउटा छानेर दिएकी थिइन् । बुढी गएपछि हामी सबै हाँसेका थियौँ । त्यो बुढीलाई ठगेका थियौँ । पैसा भई भईकन पनि छैन छैन भनेर सस्तोमा छोडेर गई भन्दै बुढीलाई उडाएका थियौँ । हामीले ती बृद्धाको सोझो पनको फाइदा उठाएका थियौँ । जानीजानी हामीले उसको मालको मोल पनि दिएनौँ ।
वास्तवमा ती बृद्धा सोझी होइनन् खुला र उदार हृदय भएकी महिला हुन् । यस्ता मान्छेलाई पाए फाइदा उठाउन जो पनि तयार हुन्छन् ।
पक्कै पनि यिनले हामीलाई जसरी नै अरु कतिलाई पनि सस्तोमा माल बेचेर हिँडेकी छन् ।
हात पाउ बल छहुन्जेल यी बृद्धा जडिबुटी खोज्ने औषधि बनाउने यसरी नै बेच्ने बाँड्ने गरेर पेट पाल्छिन् । दिन बित्दै जान्छ उमेर ढल्दै जान्छ । बृद्धा झन् बृद्ध र अशक्त हुँदै जान्छिन् । साहारा दिने साथ दिने साथी कोही छैन । कुनै दिन जडिबुटी सङ्कलन गर्न हिँड्न नसक्ने अवस्था पनि आउला त्यतिबेला यी बृद्धालाई हेर्ने कोही निक्लेलान् त ?
आफ्नो शरीरमा बल हुँदा कति बिरामीलाई सजिलै औषधि दिएर निको पारेकी यी बृद्धा भोलि आफू अशक्त हुँदा उनको भोको पेट भरिदिने उनले कोहि भेटाउलिन् त ?
यी बृद्धालाई देख्दा मेरो मनमा यस्तै प्रश्नहरु खडा हुन्छन् ।
अत्यन्तै मार्मिक कथा, बधाई छ !
ReplyDeleteहार्दिक धन्यवाद 🙏
DeleteMaarmik kathaa mn chhoyo
ReplyDeleteहार्दिक धन्यवाद 🙏
Deleteहार्दिक धन्यवाद 🙏
Deleteसुन्दर कथा !
ReplyDeleteहार्दिक धन्यवाद 🙏
Deletenice
ReplyDelete