रमेशचन्द्र घिमिरे |
भालेसँग उठ (बालकविता)
तिम्रो लागि भनेर नै मैले पालेको
म पनि त भालेसँग उठ्न थालेको
बिहानभरि ओच्छ्यानमा सुत्ने नगर
पढ्ने बेला यही नै हो झिक जाँगर
बिथोलिदे “कुखुरी काँ” निद्रा कालेको
म पनि त भालेसँगै उठ्न थालेको
दानापानी आफै खोज्छ कति फुर्तिलो
घडीसँग दाँजो लाग्ने छ जाँगरिलो
कति राम्रो सिउर हेर हाम्रो भालेको
नानी पनि भालेसँगै उठ्न थालेको
रामु आऊ भालेलाई चामल–दाना छर
श्यामु पनि भालेसँग उठ्ने बानी गर
जहिलेदेखि भाले तँलाई मैले पालेको
सबैजना भालेसँगै उठ्न थालेको ।
No comments:
Post a Comment