बालकथा, लोककथा र उपदेश–प्रेरणाका कुरा - रचना चौतारी

Breaking

Powered By Blogger

April 20, 2020

बालकथा, लोककथा र उपदेश–प्रेरणाका कुरा

लेख  

बालकथा, लोककथा र उपदेश–प्रेरणाका कुरा 

  -  रमेशचन्द्र घिमिरे

बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालबालिकाले मन पराउने, जिब्रोले पचाउन सक्ने र झ्याउ नमानीकन पढ्न खोज्ने विधामा बालकथा पर्दछ । यहाँ यसै बालकथा र यससँग लोककथाको सम्बन्ध र उपदेश एवम् प्रेरणाका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।


बालकथाको इतिहास खोतल्दै  जाने हो भने पौराणिक कथा र लोककथासम्म पुग्नुपर्ने हुन्छ । त्यसो त झट्ट हेर्दा पौराणिक र लोककथासँग बालकथाको प्रत्यक्ष सम्बन्ध नभएको जस्तो देखिए पनि तिनमा हुने सरल शैली, मीठो लेखाइ, मनोरञ्जनयुक्त संयोजन, कुतुहूलता र अप्रत्यक्ष रूपमा दिइएको रमाइलो शिक्षा बालबालिकाका लागि पनि उत्तिकै उपयुक्त हुने हुँदा यस्ता खालका कथालाई पनि बालकथाको नजिक राखेर हेर्ने गरिएको हो । फुटाल्न गाह्रो हुने भावना, दुर्बोध्य शब्दको प्रयोग तथा नीरस र सरर्र नबग्ने खालको शैली बालकथाको लागि ग्राह्य हुँदैन । नेपाली लोककथामा बालकथाको जस्तो गुण विद्यमान रहेको हुन्छ । हाम्रो समाजमा बालबालिकाहरूलाई आँगनमा, अगेनामा वा पिँढीमा भेला गराएर कथा भन्ने प्रचलन अत्यन्त पुरानो र परम्परागत रूपमा रहेको छ । विशेष गरी “एकादेशमा ...” बाट सुरु भएको कथा “... सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु मुखमा आइजाला” भनेर बिसाइएपछि त्यस कथाको प्रभाव बालबालिकाको मन–मस्तिष्कमा कहिल्यै नउप्किने गरी परेको हुन्छ । जसरी रामायण, महाभारत आदि पुराणसँग सम्बद्ध पात्रहरूको समावेश गरेर लेखिने पौराणिक कथाहरू मार्फत सत् पात्र र असत् पात्रबिचको अन्तर प्रस्तुत गर्दैै बालबालिकाहरूलाई सत् पात्र जस्तो हुनका लागि प्रेरणा दिइएको हुन्छ त्यसरी नै लोककथा वा दन्त्य कथामा पनि मानवीय वा मानवेतर जुनसुकै भए पनि सत् पात्र र असत् पात्रको प्रयोग गरेर सत् पात्रको विजय भएको देखाउँदै त्यस्तै हुनका लागि अप्रत्यक्ष रूपमा आग्रह गरिएको हुन्छ । अज्ञात रचनाकारद्वारा रचिएका र मौखिक या श्रुति परम्परामा अडिएका यस्ता कथाहरू सुखान्त विषयवस्तुमा आधारित हुन्छन् । यिनीहरू उपदेशात्मक र उपकारी भावनाले मात्र युक्त हुँदैनन् रोचकता, सरलता, सरसता, सुगमता र कल्पनाशीलताले पनि ओतप्रोत हुन्छन् । बालबालिकाहरूमा यसपछि के होला ? भन्दै जिज्ञासा वा उत्सुकता थप्ने काम पनि यस्ता लोक कथाले गर्ने गर्दछन् । प्रायः जसो कथामा सत् पात्रको विजय र असत् पात्रको पराजय भएको देखाइने हुँदा यसको उद्देश्य पनि राम्रै हुन्छ र यसले बालबालिकामा नकारात्मक होइन सकारात्मक प्रभाव पारेको हुन्छ ।

नेपाली बालकथा साहित्यको इतिहास हेर्ने हो भने सुरुका कतिपय साहित्यकारहरूले विशुद्ध अर्ती–उपदेश मात्रै राखेर बालकथा लेखे अर्थात् बालकका लागि बालसाहित्य नभएर बालकका लागि प्रौढसाहित्य लेखे । पछिका स्रष्टाले अर्ती–उपदेश दिनु राम्रो होइन भन्ने ठानेर मनोरञ्जन प्राप्त हुने खालका मात्र कथाहरू लेखे । त्यसो त ओखती र अर्ती–उपदेश अवश्य नै तीतो हुन्छ । यसो भनेर तीतो हुन्छ भन्दैमा ओखती नै नखुवाउनु पनि राम्रो होइन र तीतो ओखती जबर्जस्ती खुवाउनु पनि राम्रो होइन । यसको लागि जसरी एक गिलास पानीको सहायताले एक चक्की तीतो औषधि घुटुक्क निल्न लगाइन्छ र प्रत्यक्ष रूपमा औषधिको स्वाद थाहा नपाए पनि अप्रत्यक्ष रूपमा त्यो औषधिले शरीरमा जसरी काम गर्छ, त्यसरी ने बालकथा मार्फत बालसाहित्यमा पनि अज्ञानता, अशिक्षा र अन्योलताको स्थितिबाट शिक्षा र ज्ञानको अनि नैतिकताको मार्गमा डोर्‍याउनका लागि प्रत्यक्ष रूपमा अर्ती–उपदेश नभए पनि सल्लाह दिनु राम्रो हुन्छ । बालबालिकालाई राम्रो बाटोमा हिँडाउनका लागि प्रेरणा नै नदिने हो भने उनीहरू कसरी सत् मार्गमा लाग्न सक्छन् त ? यो कुरा राम्ररी विचार गरिनु पर्छ । मुखले सिधै सिकाउने र अह्राउने काम गाली गरेजस्तो हुन्छ र यसो गर्दा अभिभावकहरू थाकेका हुन्छन् । उनीहरूका अभिभावकको भनाइलाई सत्यता दिनका लागि बालसाहित्यकारहरूले आफ्नो कथामा उपदेशलाई नाराको रूपमा लिने खालको आग्रहीकरणको भाषाको प्रयोग गर्नु हुँदैन र त्यो कथा पढिसकेपछि मात्र बालबालिकाहरू आफैले सत्–असत् र राम्रो–नराम्रो छुट्याउन सकून् । यस्तो खालको कथा मात्र बालबालिकालाई दिनु राम्रो हुन्छ ।

  • “एकादेशमा ...” बाट सुरु भएको कथा “... सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा खुरुखुरु मुखमा आइजाला” भनेर बिसाइएपछि त्यस कथाको प्रभाव बालबालिकाको मन–मस्तिष्कमा कहिल्यै नउप्किने गरी परेको हुन्छ ।

उदाहरणका लागि राजपाठसम्बन्धी, पुराण र नीतिसम्बन्धी, समाजसम्बन्धी, भूतप्रेत र राक्षससम्बन्धी तथा मानवेतर पात्रसम्बन्धी लोककथासँग साइनो जोड्ने नेपाली बालकथाहरू पढेर बालबालिकाहरूले माथि भनिएझैँ शिक्षा र प्रेरणा प्राप्त गर्न सक्दछन् । अकबर र वीरबलका कथा पढेर बालपाठकहरूलाई वीरबल पात्रझैँ चलाख, चतुर र तार्किक हुने प्रेरणा मिल्दछ भने तेनाली रामा र गोनु झा जस्ता पात्रलाई केन्द्रीय चरित्र बनाएर लेखिएका कथामा ती–ती पात्रजस्तै हुनुपर्दछ भन्ने कुराको प्रेरणा पनि प्राप्त हुन्छ । साथै यस्ता कथाले अरुको तर्कलाई पछारेर आफ्नो बलियो तर्कलाई अघि सार्ने क्षमताको विकास पनि गराउँछन् ।  महाभारत र रामायणलाई उपजीव्य स्रोत बनाएर लेखिएका पुराण र नीतिसम्बन्धी लोक बालकथाहरूले कंशको होइन कृष्णको जस्तो, कौरवको होइन पाण्डवको जस्तो र रावणको होइन रामको जस्तो आदर्शलाई पछ्याउन सक्नुपर्दछ भन्ने प्रेरणा प्रदान गर्छन् । समाजसम्बन्धी लोक बालकथाले समाजका विकृति र विसङ्गतिलाई चिर्दै सभ्य सुसंस्कृत समाजको निर्माणका लागि होमिन प्रेरित गर्दछन् अनि धनी र गरिब बिचका द्वन्द्व–प्रतिद्वन्द्व देखाउँदै स्वार्थी र कपटी प्रवृत्तिका विरोध गरी इमानदारलाई पछ्याउन हौस्याउँछन् । मानवीय पात्रभन्दा परै रहेर पशुपक्षीजस्ता मानवेतर पात्रको प्रयोग गरिने कथाहरूले पनि माथि भनिएझैँ राम्रा कुरा सिकाउँछन् । खरायो, सिंह, कछुवा, कमिला, चरा, मुसा, बिरालो जस्ता पात्रको प्रयोग गरिएको कथा पढेर बालबालिकाले एकातिर मनोरञ्जन प्राप्त गर्दछन् भने अर्कातिर खरायोजस्तै चलाख, कछुवाजस्तै धैर्यशील, कमिलाजस्तै जाँगरिलो, चराजस्तै परोपकारी, बिरालोजस्तै बाठो, मुसाजस्तै होसियार हुने आदि जस्ता प्रेरणा पनि प्राप्त गर्दछन् । 

जे भए पनि भूतप्रेतका गथासामा अल्झने, राजा–महाराजाका कुरामा अल्मलिने, पौराणिक प्रसङ्गमा अड्किरहने, काल्पनिक र अतिरञ्जनात्मक विषयमा भुल्ने प्रवृत्तिबाट माथि उठेर आजका बालबालिकाले पढ्ने बालकथामा वैज्ञानिक दृष्टि पनि अटाइएको हुनुपर्दछ र हरेक कथाहरू उपदेशकै लागि लेखिनुपर्दछ भन्ने मान्यताबाट भने परै रहनुपर्दछ ।

             – क्याम्पस प्रमुख, ईशानेश्वर क्याम्पस भोर्लेटार लमजुङ

(साभार : समष्टि द्वैमासिक मङ्सिर –पुस, २०५७)

2 comments:

  1. सधैं जसो स्वयं बालक नै भएर सयौं सुन्दर र प्रेरणादायी बाल कविताहरू सिर्जना गरिरहनु हुने लोकप्रिय कवि तथा लेखक ज्यू को यो आलेख बाट उहाँ बाल बालिकाहरु को चरित्र निर्माण मा साहित्य ले धेरै राम्रो र महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मा पूर्ण विश्वस्त देखिनुहुन्छ र आफ्नो पेशा शिक्षण भएर पनि हुनुपर्छ कि उहाँ नेपाली बाल बालिकाहरु का लागि एक कुशल प्रेरक व्यक्तित्व हुनुहुन्छ ।

    ReplyDelete
    Replies
    1. धन्यवाद सर, यति मीठो शुभेच्छाका लागि आभारी छु शिव सर !

      Delete