ठाडो भाकाका पर्याय : भेडीखर्के साइँला - रचना चौतारी

Breaking

Powered By Blogger

April 07, 2020

ठाडो भाकाका पर्याय : भेडीखर्के साइँला


अथक लाेक साधक भेडीखर्के साइँला

ठाडो भाकाका पर्याय : भेडीखर्के साइँला


                       - रमेशचन्द्र घिमिरे

२०७३ वैशाख १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान र टरेली साहित्य समाजको संयुक्त आयोजनामा भएको बृहत् सांस्कृतिक एवम् मातृभाषा कवि गोष्ठीमा सहभागी भएपछि बेलुकी भोर्लेटारस्थित सनराइज होटेलमा भेडीखर्के साइँलासँग डेढ घण्टा लामो अन्तरङ्ग कुराकानी गर्ने अवसर मिल्यो । टरेली पत्रिकाका सम्पादक विजयरञ्जन पौडेल र रामरञ्जन पौडेलसहित लामो भलाकुसारी भयो । उनकै जीवनकथा धित नमरुन्जेल उनकै मुखबाट सुन्न पाइयो । उक्त कुराकानीमा भेडीखर्केको जीवन कहानी मात्र सुनिएन, नखोतलिएको इतिहास पनि पढ्न पाइयो । वि.सं. १९९० भदौ ३१ गते लमजुङको तुर्लुङ मैदानमा जन्मिएका दीर्घराज अधिकारी भेडीखर्कमा बसेका बुबाका साहिँला छोरा भएकाले भेडीखर्के साइँलाका रूपमा चिनिएका रहेछन् ।
भेडीखर्के साहिँलाको यही स्थानीय नाम पछि गएर ठाडोभाका लोकगीतका क्षेत्रमा राष्ट्रिय पहिचान बन्न पुग्यो, जनस्तरबाट ठाडोभाका शिरोमणिको उपाधि पाउन पनि उनी सफल रहे । २०१८ सालदेखि गीत गुनगुनाउन सुरु गरेका भेडीखर्केले औपचारिक वा विद्यालयीय शिक्षा प्राप्त गर्न सकेनन् । औपचारिक शिक्षा प्राप्त नगरेका कारणले उनको बाल्यकाल प्रायः खेलेरै बित्यो । स्वाध्ययनकै भरमा कखरा पढ्दै–पढ्दै पछि गएर स्वस्थानी व्रतकथाका किताब पढ्न सक्ने भए । पढ्दै जाने क्रममा महाभारत र रामायणका किताब पढेर तिनका विषयवस्तुलाई पछि ग्रहण गर्न भ्याए । उनले गाउने गीतमा आउने स्वस्थानी, रामायण र महाभारतको प्रसङ्ग त्यही अध्ययनको प्रभाव हो । रहरै रहरमा गीत गाउन सिकेका उनले विना प्रशिक्षण आफ्नै साधनामा ठाडोभाका सिके ।
सात वर्षको उमेरमा शिवरात्रिको मेला हेर्न आउँदा चिसङ्कुका घिमिरेहरूले सिलोक हालेको पनि उनले सुन्ने मौका पाए भने त्यसै क्षेत्रमा ठाडो भाका गाउने देउबहादुर दुरालगायत ठाडो भाका गीतमा रौसिने खुजुरे दुरा र मणिराम दुरालाई पनि उनले देख्न भ्याए । तर जसको प्रेरणाले उनले ठाडो भाकाको संरक्षण गर्नुपर्छ भन्ने चेतनाबोधका साथ गीत गाए उनै देउबहादुर दुराले समेत उनलाई चिनेनन् । उनी ७–८ वर्षको हुँदा नै देउबहादुर दुराको मृत्यु भइसकेको रहेछ नत्र उनी देउबहादुरसँग आफू उनकै अनुयायी र उत्तराधिकारी भएको कुरा समेत गर्न सक्थे ।  
ठाडो भाकालाई जगाउने स्रष्टाको नाम लिनुपर्दा उनले उत्तम गुरुङ, भक्ति दुरा, बुद्धिमाया गुरुङ (कान्छी बुढी), माया गुरुङ, गौमाया दुरा, शान्ति दुरा आदिलाई पनि सम्झे । उनीहरूसँग गाएको गीतको स्मरण उनमा थियो भने ठूलस्वाँराकी कान्छी, तनहुँकी ज्ञानु थापा र कास्कीकी सखी मियासँग गीत गाएको अनुभव पनि उनले सुनाए । गीत गाउने क्रममा अग्रजहरूको सम्झना गर्दा उनी देवीदेवतालाई नै सम्झिएर गीत गाउँदा रहेछन् । देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङको गीत सुनेर ठाडो भाका गायनको क्षेत्रमा उनी होमिएका हुन् । देउबहादुर दुरा (१९५३) र पञ्चैसुब्बा गुरुङ (१९४८) आफ्ना बुबाको दामली भएको उनले बताए । पहिलोचोटि करापुटार आउँदा उनले पुस्तुनका सुवेदीहरूले “भाँचौली बुलाकी, नानीको बानी मुइँ खानी” चुड्का गाएको उनले सम्झिरहेका रहेछन् । “पहिले लेखापढाको जमाना थिएन । कसैले गाएको गीत सुन्यो, टप्प टिप्यो अनि त्यही गीत पछिसम्म पनि मुखाखार हुन्थ्यो । लेखापढा भएकाले कापीमा टिप्थे होलान्, हामीले टिप्ने चाहिँ दिमागमै हुन्थ्यो ।” उनी यसो भन्थे । उनका अनुसार त्यतिखेर क्षेत्री बाहुनका छोराले गीत गाउनु हुँदैनथ्यो । बुबा भइन्जेल उनी राति–राति गीत गाउन गएको घरका अभिभावकलाई पत्तै हुँदैनथ्यो । बुबा बितेपछि भने उनलाई लुकेर गीत गाउन परेन । 
देउबहादुर र पञ्चैसुब्बाभन्दा अगाडि ठाडोभाकाको प्रचलन रहेनछ । गुरुङ दुराहरू घाटुमा रम्थे, झ्याउरे गाउँथे । बाहुन क्षेत्रीहरू सिलोक हाल्थे, भजन गाउँथे, बालुन खेल्थे, मगरहरू चुड्कामा रमाउँथे । ठाडोभाकामा गीत गाउने केटी नपाउँदा केटालाई नै केटीको पोसाक लगाइदिएर केटी बनेर गीत गाउने प्रचलन रहेछ । पछि नेटाकी मैरानी गीत गाउन तयार भइछन् । नेटाकी मैरानीलाई देउबहादुरले नै ठाडो भाका गाउन सिकाएका रहेछन् । मैरानी पछि गीत गाउँदा गाउँदै आफैँ सिपालु भइछन् र उनीहरूका बिचमा घच्ची परेछ । मैरानीले देउबहादुरलाई यसो भनिछन् –
मैरानी : “सरमा सर दमाई दाइको घर मेरो चोलो सिएको
  देउबहादुर म कस्तो न हुँ भन्छ मैले टोपी दिएको”
देउबहादुर : “बैनी मेरी कान्छी, बसी बसी बुन्छे भुत्लाको चकटी
                    ले मेरो बालो, लैजा तेरो खालो, इज्जल फाला नकटी”
आफूलाई देउबहादुर दुराको उत्तराधिकारी सम्झने भेडीखर्केका लागि बाहुन जातिको भएर पनि गुरुङ दुरालाई ठाडो भाका लोकगीतका क्षेत्रमा पछार्न सक्नु ईश्वरीय वरदान जस्तै थियो । आफूलाई कला र गला सरस्वतीले दिएको हुनुपर्छ भन्ने उनको ठहर थियो । कति गायकहरू लोकगीत त गाउँछन् तर ठाडो भाका गाउन सक्दैनन् । २२–२४ वर्षको उमेर छँदा भेडीखर्केलाई गीति प्रत्युत्तर यति चाँडै फुथ्र्यो कि छोरी मान्छेले एक फेद भन्ने बित्तिकै उनी ‘आँ’ गर्दा अलङ्कार बुझ्थे र उत्तर फर्काउन हतारिन्थे । उनका पालामा भेडीखर्के भनेर नचिन्ने कोही थिएन । आफ्नो घरायसी र पारिवारिक काम विशेषमा कतै जानपर्दा पनि उनलाई मौका छोपेर गीत गाउन लगाउने मान्छेहरू उत्तिकै हुन्थे । उनले सुखै पाउँथेनन् । एकचोटि भोर्लेटारका मान्छेले उनलाई घरै जान दिएनन्, बाटो छेकेरै गीत गाउन लगाए । कुरा के रहेछ भने उनी दाङ्सिमर्‍याङ (कास्की) मा भैँसी खोज्न गएका थिए । भैंसी किनेर फर्कँदा मादीको सजिलो जङ्घार खोज्दै पिस्तीको दोभानबाट भोर्लेटार उक्लिए । भोर्लेटारमा थापा थरका खरदारले “हो त्यही हो भेडीखर्के साइँला” भनेर अरुलाई चिनाए । उनले किनेको भैंसीलाई धर्मशालीको जेठो छोरा पुण्यशालीको टौवानेरको गोठमा बाँध्ने ठाउँको बन्दोबस्त समेत टरेलीहरूले गरिदिएर गीत गाउन बाध्य बनाए । “बेगनासबाट आएको १२ वर्ष भयो खराँठ गीत गाउने मान्छे छ । क्षेत्रिनी हो, सार्कीले ल्याएको । अहिले लोग्ने घरमा छैन, आज त्यसैसँग गीत गाउनुपर्छ” भनेर जोस्याए । वास्तवमा क्षेत्रिनीको कथा यस्तो रहेछ ः
“एकपल्ट कास्कीको बेगनासमा सार्की जातको केटासँग क्षेत्रिनी पनि गीत गाउने भइन् । गीत गाउनुअघि एउटा यस्तो सर्त राखियो । सर्त अचम्मको थियो – दोहोरी गाउँदा केटाले जिते बिहे गर्ने र केटीले जिते केटा हली हुने । दोहोरीमा क्षेत्रिनीले हारिन् अनि सर्तअनुसार उनी उसैसँग बिहे गर्न राजी भइन् । तर स्यान्जाते र ठूल्जातेको विवाह हुँदा गाउँमा नराख्ने चलनले दुवै डराएर लुक्दै छिप्दै भोर्लेटारतिर आएर बसेका रहेछन् । तिनै क्षेत्रिनीसँग मैलै गीत गाउनुपर्ने भयो तर मैले त्यो मसँग गीत गाउन्न होला भन्दाभन्दै पनि ऊ पनि तयार भएको कुरा थाहा पाएँ । उसलाई गीत गाउने वातावरण मिलाइदिन टरेली बाहुनहरूले दाल–चामलको व्यवस्था पनि गरिदिइएका रहेछन् र त्यही पकाएर खाएर गीत गाउने तयारीका साथ ऊ आई । त्यो रात फल्याङ्कोटे नेवारको पिँढीमा बसेर रातभरि गीत गाइयो । त्यतिखेर भोर्लेटारमा रणबहादुर गुरुङ हेडमास्टर थिए ।” उनलाई कुन सालमा गीत गाइयो भन्ने मेसो रहेनछ । भेडीखर्के साइँलाको स्वभाव उनकै शब्दमा अलि मातेको थियो । स्वर राम्रो नहुने र स्यानो जातकासँग उनी सकेसम्म गीत गाउँदैनथे । तर ती केटीले राम्रै गीत गाइछन् । उनले त्यो रात धेरै होइन दुई–चारवटा मात्रै गीत गाए, जसको अंश यस्तो थियो :
केटी : तीसमा बीस गाईको गोठ अघि लाउँला लछी–लछी
राम साइँला काँडा, ज्यान बाटो फाँड
म आउँला पछि–पछि
भेडीखर्के : भातै र खानु मसिनो धानको एकु राते रै’छ दही
धोब्यानी धोयो, ज्यान बाटो फाँड म पछि आउँछु भन्ने मर्जी त भयो 
पूर्व दिशा फाँडम् भने बाग्मती नदी ढकमक्कै छ नि तर्नै गाह्रो हुने 
दक्षिण दिशा फाँडम् भने औलो बढी ज्यानलाई थाहा छँदै छ नि
पश्चिम दिशा फाँडम् भने चोर डाँकाको भय हिँड्नै गाह्रो हुने
उत्तर दिशा फाँडम् भने हिमले आँठो गाँठो डाँडाकाँडा सधैँ ढाकिरहने, 
                  कुन बाटो फाँडम् खै ?
भेडीखर्केले यस्तो जवाफ दिएपछि “म त सक्दिनँ” भनेर केटी (क्षेत्रिनी) जुरुक्क उठेर गइछन् । त्यसको १०–१५ दिनपछाडि भोर्लेटार आएर भेडीखर्केले कान्छी बूढी लगायतका गुर्सिनीहरूसँग गीत गाउने रहर मेटाए । “पिस्ती खोलामा खेती गर्न पाउँदैनौ, गाईको चरन हो । मैले नुन छरेर छोडिदिएको छु” भन्ने भावको गीत गाएपछि कान्छी बूढीको चित्त पनि दुखाए । उनले त्यसको जबाफ भोर्लेटारकै अर्को कार्यक्रममा फर्काएर मन हलुका बनाइन् । धनबहादुर गुरुङ र देवी गुरुङले भोर्लेटारमा ठाडो भाकाको गीतको छायाङ्कन गर्न आउँदा मात्र कान्छी बूढीको मन हल्का भएको थियो ।

भेडीखर्केसँग गीत गाउने महिलाहरू उनीप्रति हुरुक्क त हुन्थे तर जति रमाइलो गरिन्थ्यो, त्यो गीतमा मात्र सीमित हुन्थ्यो । साँच्चै नै गीतमा जस्तो वास्तविक प्रेम गरेको भए लमजुङ, तनहुँ र गोरखाका ती महिलालाई कहाँ स्वास्नी बनाएर पाल्न सकिन्थ्यो र ! त्यसैले आफू स्वास्नी थुपार्नपट्टि नलागेको कुरा उनले रमाइलो पाराले गरे । उनका पालामा गीतमा खुब ठोक्का बाजी चल्थ्यो । ती गीतमा आञ्चलिकतालाई पनि महत्व दिइन्थ्यो :
    “के छ माया करापुटार
        छ पो छ पुतलीबजार”
लमजुङ जिल्लाको ईशानेश्वर महादेव मन्दिर तीर्थस्थलको क्षेत्र करापुटार र तनहुँ जिल्लाको साविक रूपाकोट गाविसको टुहुरे पसलमा पर्ने पुतलीबजार जस्ता ठाउँहरू अनुप्रास मिलाउन गीतमा यसरी झुन्डिन्थे ;
“पुतली बजारको चिनु
    ठुटो चुरोट मारेर ल्याइदिनू ।”
गीत छोटो भए पनि गम्भीर भाव बोकेका गीत गाउँदा रहेछन्, ऊबेला । ठुटो चुरोट मारेर ल्याउनुले प्रत्यक्ष रूपमा गरिबीको सङ्केत देखाए पनि जुठो खाँदा हुने चोखो माया र आत्मीयताको भावको भित्री अर्थ दिन्थ्यो ।

पहिले–पहिले गाउँघरतिर झ्याउरे भन्ने लोकदोहोरी प्रशस्तै गाउँथे । त्यतिखेर झ्याउरे गीतलाई बूढापाकाहरूले अल्लि हेप्ने गर्थे । “गाउने भए ठाडो भाका नै गा, झ्याउरे किन गाउँछस् ?” भनेर बूढापाकाले भनेपछि पृथक प्रस्तुति दिनका लागि भेडीखर्केले ठाडो भाकाका गीत गाउन थालेछन्  तर भेडीखर्केले ठाडो भाकाका जुन गीत गाए त्यसको विकास भने दोहोरी गीतबाटै भएको हो । ठाडो भाकाअगाडि झ्याउरे र काँठे प्रचलनमा थियो पछि देउबहादुरले अन्य गीत छाडेर ठाडोभाकाको विकास गराए, त्यो पनि करापुटारको मेलामा आएर । भेडीखर्केका विचारमा अन्य लोकगीतहरू शब्दमा कमजोर हुन्छन् । ठाडो भाकामा नजानिँदा तर यस्ता खालका बेग्लै नियम हुँदा रहेछन् :

 * ठाडो भाका गीत दुई टोलीहरू अलि टाढै बसेर गाइन्छ ।

 * ठाडो भाका नाचेर गाउने भाका हो, गीत गाउने पुरुष उभिएर र नाचेर अर्थात् ठाडै भएर गाउँछन् । एकजना छोरा मान्छे नाचेर र उभिएर गीत गाउने हुनाले नै यसलाई ठाडो भाका भनिएको हो ।

 * यसमा छोरी मान्छे नाच्ने चलन हुँदैन अचेल ठाडो भाकामा छोरी मान्छेहरूले नबुझेर नाचेका हुन् । वास्तवमा छोरी मान्छेले ठाडो भाकामा नाच्न मिल्दैन ।

 * ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ र अघिल्लोको तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ ।

 * ठाडो भाकामा छोरा मान्छे नाच्दै गाउँछन्, छोरी मान्छे बसेर गाउँछन् । 

भेडीखर्के आफूलाई देउबहादुर दुराको बिँडो थाम्ने उत्तराधिकारी भन्न रुचाउँथे । “मैले नचिने पनि देउबहादुर मरेर गएपछि म उनको उत्तराधिकारी भएँ भने म मरेपछि मैले नचिने पनि मेरा उत्तराधिकारी आउलान् नि !” ठाडो भाका मर्दैन भन्नेमा उनको यस्तो आत्मविश्वास थियो । “ठाडो भाकाको उद्गम थलो ईशानेश्वरको करापुटार नै हो र देउबहादुरले नै ठाडो भाकाको उत्पत्ति गराएको पक्कापक्की हो ।” उनले ठोकुवा गर्दै भने । शिवरात्रिको बजारमा रातको समयमा धेरै समूहले आ–आफ्ना सुरमा गीत गाउँथे । ठाडो भाका मात्र होइन बालुन, सिलोक, भजन, चुड्का, चलचित्र हुन्थे । तर तीमध्ये भेडीखर्केले शिवरात्रि बजारमा मात्र होइन, मादी मिदिममा दुवालो थुन्दा पनि रातभरि ठाडो भाका गीत यसरी गाउँथे रे :
“मिदिम खोला दुवाली त भोर्लेटारको चपरी
कल्ले मार्‍यो सहर
बग्याको पानी सन्जोगले गर्दा
काँ’को तिमी काँ’को हामी
भेट भयो नानी फेरौं मनको रहर”

भोर्लेटारमा सिंहबहादुर धिङ्गल र प्रेमबहादुर गुरुङको घरपैंचोमा रातभरि गीत गाएका भेडीखर्केले तार्कु गहतेको एउटा बिहेमा बिहाको अघिपछि गरेर ठाडोभाका गीत गाउँदै तीन दिन तीन रात बिताए । “मैले मात्रै गीत गाएर भएन तगेर गीत गाउन आइमाई पनि चाहिने ।” उनको अनुभव यस्तो थियो । ठाडो भाका गाउनका लागि आफूलाई साथ दिने पुराना पुस्ता र नयाँ पुस्ताका सबै कलाकारलाई सम्झन उनले भ्याए । उत्तम गुरुङ, भक्ति दुरा, कान्छी बूढी (बुद्धिमाया गुरुङ), गौमाया दुरा, शान्ति दुरा, तुर्लुङ ढाँडथोके माइली, ठूल्स्वाँरा मणिरामकी छोरी चीजा, गल्लीपारिकी कान्छी, ज्ञानु थापा, सखी मिया, गौमाया दुरा, स्यानी दुरा उनको स्मृतिपटमा आउने नाम हुन् । यामबहादुर दुरा, बुद्धिमान दुरा (धम्पु), कृष्ण गुरुङ, राजु परियार, कृष्ण सुधा ढुङ्गाना, बिमाकुमारी दुरा, राधा भण्डारी, मञ्जु वि.क.,सीता दुरा जस्ता अनुज प्रतिभाहरूको कदर गर्ने भेडीखर्केलाई नयाँ पुस्ताका प्रतिभाले पनि सम्मान गरे । कृष्ण कँडेल, नारायण रायमाझी, दुर्गा रायमाझी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, देवीजङ गुरुङ भेडीखर्के बिरामी भएको खबर थाहा पाएर भेट्न मात्रै गएनन् तत्काल सत्र हजार रूपैयाँको जोहो पनि गरिदिए । उनका छोरी–ज्वाइँले उनी बिरामी हुँदा राम्रो स्याहार गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै पुर्‍याउन धनबहादुर गुरुङले उनलाई राम्रै सहयोग गरे । धनबहादुर भेडीखर्केलाई ‘साइँल्दाइ’ भनेर सम्बोधन गर्थे । उनको कलाको पारख गर्ने सबैभन्दा राम्रा र उदार व्यक्ति धनबहादुर गुरुङ हुन् । भेडीखर्केका अनुसार धनबहादुरको प्रयासले मात्र उनको उपचार सम्भव भयो । उपचारका लागि तीन–चार लाख रुपियाँ पनि उनले जुटाइदिए र नयाँ जीवन पाएर भेडीखर्के फेरि ठम्ठम्ती हिँड्न सक्ने भए ।

“मलाई धेरै मान्छेले सम्झन्छन्, धेरैले माया गर्छन् । मेरो मुखमा सरस्वती छन् र त सबैले मलाई चिन्छन् नत्र त तपाईंहरूले पनि मलाई चिन्नुहुँदैनथ्यो । यो कुरामा मलाई गर्बै लाग्छ । मलाई धेरैले श्रद्धा गर्छन्, बाबुआमा जस्तै ठान्छन् । मेरा लागि जगतै छोराछोरी हुन् ।” उनी भावुक भएर बोल्थे । बैंसका बेलामा गीत गाउन उनी टाठै थिए, जो कोहीलाई हराउँथे । महिला दिदी बहिनीहरूलाई पनि गीत गाएर जित्थे तर हेपेर र नराम्रो शब्द बोलेर होइन मिठो बोलेर जिते । उनी महिला दिदी बहिनीको सम्मान गर्थे, कहिल्यै नमिठो बोल्थेनन् । त्यसै भएर गीत गाउन उनीसित सबै आकर्षित हुन्थे र लुँडिएर हानथाप गरेर आउँथे । “गीत हो कहिलेकाहीँ शब्दले मागेपछि ठोकाबाजी पनि हुन्थ्यो । दक्ष प्रजापतिले नबोलाए पनि लोग्नेको काख छोडेर खान नपाए जस्तो गरी बाउआमालाई भेट्न जाने सतीदेवी यस्ती र उस्ती पनि भनियो । देवी डाक्टरकी बहिनी भक्ति गुरुङसँग गीत गाउँदा मैलै भन्दाभन्दै के बित्तल पारेछु, साह्रै नै चित्त दुखाएर रोइन् । त्यसपछि मलाई पनि नरमाइलो लाग्यो, थैय थैय भयो ।” उनले भावुक हुँदै विगत सम्झिए ।

“शिवरात्रि करापुटार, चैते दसैं बाग्लुङको बजार” भन्ने एउटा लोकगीतको अंशले लमजुङको करापुटार र बाग्लुङको बाग्लुङ बजारलाई राम्रै चिनाएको छ । यी दुवै ठाउँसँग भेडीखर्केको राम्रो सम्बन्ध पनि छ । चैते दसैंमा बाग्लुङ बजार गएर ठाडो भाका गाउँदा उनले राम्रै सम्मान पाए, त्यहाँकै एक जनासँग मितेरी पनि लगाए । उनी एकचोटि भन्दा अर्कोचोटि बाग्लुङ बजार गएनन् तर एकचोटि मात्रै गए पनि उनी त्यहाँ राम्रै सम्मानित भए, उनको कलाको प्रशंसा भयो । लमजुङको करापुटार त आफ्नै जिल्लाको भएकाले वर्षैपिच्छे आए । उनी ठाडो भाका गीत गाउन कता–कता गएनन् र काठमाडौं, पोखरा, तनहुँ, वीरगञ्ज, बटौली जतासुकै गए । उनलाई आफू घुमेको मध्ये मनपर्ने ठाउँ बटौली र त्यसपछि काठमाडौं लाग्यो । ठाडोभाका लोकगीतका क्षेत्रमा लागेर उनलाई सबैले चिने । उनको प्रतिभाको कदर र ठाडो भाकाको संरक्षणका लागि संस्था गठन पनि भए । भेडीखर्केकै संरक्षकत्व र नवराज पहाडीको अध्यक्षतामा ठाडोभाका लोककला प्रतिष्ठानको स्थापना भयो र उक्त संस्थाले सक्रिय भूमिका निर्वाह गरी उनलाई सम्मानित गर्दै थप उचाइमा पु¥यायो र जीवनको उत्तरार्धमा सहयात्रीको भूमिका निर्वाह गर्‍यो । ठाडो भाकाका लोकगीतको क्षेत्रमा लागेर उनलाई सबैले चिने । जतासुकै उनको हाई–हाई भयो । यस क्षेत्रमा लागेर पाएको दुःखलाई उनले दुःख ठानेनन्, दुःखभन्दा बढी आत्मसन्तुष्टि प्राप्त गरेर जिन्दगीभरि पाएको दुःख नै बिर्सिए । धर्मकर्म, यसो–तसो, इष्टमित्र यही कलाबाट आएको हो । आफू अनपढ भए पनि लेखपढ गर्न नजाने पनि इष्टमित्र चिनाउने र साथी सङ्गति थप्ने काम यही कलाले ग¥यो । माया–मोह, धर्म–कर्म, सृष्टि, जीवन यस्तो हुँदो रहेछ भन्ने कुरा पनि उनलाई यही कलाबाट थाहा भयो ।

उनका लागि करापुटार बजार लमजुङ जिल्लाको अमूल्य तीर्थस्थल हो । यो जत्तिको पवित्र थलो लमजुङमा अरु छैन । अरु मन्दिर पछि स्थापना भएका हुन् तर ईशानेश्वर महादेवको मन्दिरचाहिँ आफै उत्पत्ति भएको हो । त्यसैले करापुटारलाई लमजुङको ठूलै तीर्थस्थल मान्नुपर्छ । यो राजधानी भएको भए नेपालकै ठूलो तीर्थस्थल हुन्थ्यो भन्दै आफ्नो गीति यात्रालाई यत्तिको उचाइमा पु¥याउने करापुटारको उनले मुक्तकण्ठले प्रशंसा गरे । २०७३ साल बैशाख १८ गते राति १०ः३० बजेसम्म भएको लामो भलाकुसारीमा हामी (रामरञ्जन पौडेल, विजयरञ्जन पौडेल र रमेशचन्द्र घिमिरे) सँग डा. मुकुन्दराज पथिक, मीनबहादुर भण्डारी र उनका छोरीज्वाइँ शमशेर लौडारी जागै थियौँ । छुट्ने बेलामा भेडीखर्केले गाएका गीतका अंश यस्ता थिए ः

मिदिम खोला दुवाली त भोर्लेटारको चपरी
कल्ले मार्‍यो सहर
लमजुङको डाँडा–पाखा, बाल्यकालदेखि गाउँथेँ ठाडो भाका
जाऊँ नदी तर्‍यो, आज ह्याँको इष्टमित्रहरूले साह्रै जिद्दी गर्दा
यो सनराइज होटेलमा बस्ने दिन पर्‍यो
मकैलाई कनी जे भए पनि मन पापीको रहर
हो.......... भनूँ र यसो मायाजाल मन पापीको रहर

पुरानाकोट, लाँकुरीको बोट करापु सियाँलो
कोट माया लाँकुरीको बोट करापु सियाँलो
दाम पैसा गन्छु
जे भए पनि बाल्यकालको कुरा मनलाई भन्छु 
हा हा धोब्यानी धोला, ह्याँको मित्रहरूले सुनिदिनुहोला
मन पापीको बियाँलो
हो............... भनूँ र यसो माया जाल मन पापीको बियाँलो

फलामे ताई श्रीकृष्णज्यूको सोह्रसय गाई ल्याउने र लाने को ?
ज्यूको माया सोह्रसय गाई ल्याउने र लाने को ?
कौमती कलाई रेफ दिने रलाई
सत्ते जुगको धुलो कलिजुगको सलाई 
अञ्जनीको पुत्र वीर हनुमानले लङ्का दियो जलाई
हिजोको मोटरको धुलो र मैलो छारोले गर्दा
आज दुई चार चरण भन्न पनि गाह्रो प¥यो मलाई
धोब्यानी धोला, यी मित्रहरूले सन्तक गर्नुहोला
आजलाई यत्ति भो ............
त्यतिबेलाको वार्तालाप त सकियो मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान र टरेली साहित्य समाजले सम्मान गर्दै गीत गाउन अनुरोध गरेपछि उनी तम्सिए । गीत गाउने युवती पक्षले माया लाएर घरजम गरौँ भन्दा उनको कथन यस्तो थियो :
दौरा मेरो काठी सानु सानु पाठी कालिकालाई भाकेको
दर्शकलाई पार्दै दङ्गै
बैँसभरि गरियो रङ्गै
दाँत झर्दै आयो आँत मर्दै आयो
अब त नानी मनमा छैन चैन
माया लाउने हैन
स्वर्ग जान आँटेको
यसो भन्ने उनी भेडीखर्के साइँला अर्थात् ठाडोभाका शिरोमणि दीर्घराज अधिकारीको मिति २०७४ भदौ २६ गते दुःखद् अवसान भयो, चौरासी पूजा गर्ने तयारी हुँदाहुँदै पाँचै दिन अगाडि नै यस संसारबाट भेडीखर्के त अस्ताए तर ठाडो भाका लोकगीत नअस्ताओस् । ठाडोभाका लोकगीतका धरोहर भेडीखर्केप्रति हार्दिक श्रद्धासुमन !
(लमजुङको करापुटार र भोर्लेटारको स्थानीय परिवेशमा अाधारित भएर लेखिएको)
(स्राेत - टरेली वार्षिक साहित्यिक पत्रिका, २०७५ )

No comments:

Post a Comment