बाल कविता : रुख
-सरस्वती श्रेष्ठ `सरू´लुकेको छ माटोमा जरा रुखको
भोगेको छ जिन्दगानी दु:ख सुखको
हाँगाबिँगा फैलाई साथी बोलाई
स्वागत् गर्छ रमाउँदै पात हल्लाई
`बस´ भन्छ आएर चर्को घाममा
आमाले झैँ राख्दछ आफ्नो काखमा
काम गर्ने खेतालो चाहे गोठालो
बाटो हिन्ने बटुवा ताप्छन् शितलो
चरा बस्छन् गुँड् बनाई त्यही रुखमा
साथ दिन्छ सबैलाई दु:ख सुखमा
शान्त भई उभिन्छ सधैँ यसरी
हावाहुरी सहन्छ रुखले कसरी ?
अघि बढ्न खोज्नेको खुट्टो तान्दैन
यो आफ्नो र त्यो पराइ ठान्दै ठान्दैन
शिशिरमा पात झर्छ दु:ख मान्दैन
दु:ख पर्यो भनेर रुन जान्दैन
स्वाभिमानी बन्नुपर्छ रुख जसरी
आफ्नो काम गर्ने हो लोभ नगरी ।
- पोखरा
२०७७/०१/०५
No comments:
Post a Comment