त्याे जिन्दगी सुम्पियौ (कविता)
रमेशचन्द्र घिमिरे लमजुङ
छन्द : शार्दूल विक्रीडित
नेपाली जनको भलो गरुँ भनी
स्वतन्त्रता खातिर
ठूलो आँट अदम्य साहस लिई
योद्धा बनी आखिर
आफ्नो देह मरे पनि अरु सबै
बाँचून् भनी कुर्लियौ
प्राणोत्सर्ग गर्यौ सहिद बिचरा
त्यो जिन्दगी सुम्पियौ ।।१।।
तिम्रो प्राण मरी गए पनि यहाँ बाँची रहेका तिमी
नेपाली अनुहारमा दिनदिनै हाँसी रहेका तिमी
सिक्री बन्धनको चुँडाउन स्वयम् मैदानमा होमियौ
यो नेपाल स्वतन्त्र पार्न तिमीले त्यो जिन्दगी सुम्पियौ ।।२।।
पत्नी ती विधवा भइन् अपुत यी बाबा र आमा भए
बच्चा बालक ती निरीह बिचरा सारा टुहुरा रहे
आफ्ना लक्ष्य र योजनाहरु कठै सम्पूर्ण छाडी गयौ
जन्ताको सुख देख्न हो कि किन हो त्यो जिन्दगी सुम्पियौ ।।३।।
गङ्गालाल र धर्मभक्त दशरथ् हे शुक्रतारा तिमी
हाम्रो मुक्तिनिमित्त मर्न कसिने हे प्राणप्यारा तिमी
भो चाहिन्न मलाई स्वार्थ रतिभर् भन्दै अगाडि हिँड्यौ
अर्काको हित निम्ति नै समरमा त्यो जिन्दगी सुम्पियौ ।।४।।
छाड्यौ भोगविलास राम–रमिता त्याग्यौ खुसीका दिन
ऐशाराम र बन्धुबान्धव तथा आनन्द बिस्र्यौ किन ?
पक्कै देश बचाउने प्रण लिई यो मोहमाया भुल्यौ
आत्मा मर्न नदी सुरक्षित गर्यौ त्यो जिन्दगी सुम्पियौ ।।५।।
आकाङ्क्षाहरु उच्च थे सहिदका आदर्श अग्ला थिए
चोखा भाव थिए विचार रसिला सिद्धान्त सङ्ला थिए
अर्काको सुखप्राप्तिमा रहरियौ आफ्नै खुसी बिर्सियौ
हाम्रो ज्यान बचाउने प्रण गरी त्यो जिन्दगी सुम्पियौ ।।६।।
भोकाका तिमी अन्नदायक बन्यौ वाणी बन्यौ मूकका
नाङ्गाका कपडा बन्यौ सपुत है लट्ठी निराश्रितका
आशा बन्न पुग्यौ गरीब जनका ती नेत्रमा टाँसियौ
पाऊन् शान्तिसुखा भनेर दुनियाँ त्यो जिन्दगी सुम्पियौ ।।७।।
तारा ती नभका झरेर नगए प्रभात छाउन्न रे !
सच्चा वीर सहिद् मरेर नगए स्वातन्त्र्य आउन्न रे !
होला सायद यै बुझेर रणमा मर्ने इराधा लियौ
खै के पाउन हो सहिद तिमीले त्यो जिन्दगी सुम्पियौ ।।८।।
रचना : २०५४।०९।२१
No comments:
Post a Comment