पातली मेरी हो गीतिकविता
........... रमेशचन्द्र घिमिरे
असारे मासको दबदबे हिलो छुनमा घिन लाग्यो
दसैँको लागि किनेको थिएँ रोपाइँमा लाइछ
फरिया त्यही लाएर दही-चिउरा खाइछ
दहीको टाटो हिलोको टाटो त्यसैमा टाँसियो
दसैँको लागि रहेन अब असारमै नासियो
बीउका मुठा डोकामा बोकी खेतखेतै झरेकी
फरिया राम्रो लाएर अझ चिटिक्क परेकी
जहाँबाट हेरू जसरी हेरूँ पातली उस्तै छे
रोपारेलाई ठेलमठेल गरी बीचमा घुस्दे छे
पातली जहाँ दौडिन्छे त्यहीँ यो आखा दौडिन्छ
त्यै पातलीको सौन्दर्य रसमा हिर्दय पौडिन्छ
फरिया राम्रो लाएकी हो कि उही मोरी राम्री हो
यो मुटु जल्छ नभन कोही "पातली हाम्री हो"
मायाको डोरी बलियो लिई बेर्दैछु तँलाई
आँखालाई थकाइ नलाग्ने गरी हेर्दैछु तँलाई
रोपाइँ मात्र हेरिनँ आज तैँलाई हेरियो
"तिम्री'नि होइन, हाम्री'नि होइन, पातली मेरी हो"
-भोर्लेटार, लमजुङ
No comments:
Post a Comment