कवयित्री शान्ति सापकोटाको बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

कवयित्री शान्ति सापकोटाको बालकविता

  दिदी  (बालकविता)

          - शान्ति सापकोटा

विदेशबाट आइन् दिदी
हात मिलाइन् 
भोलिपल्ट पार्टी दिइन्
जुस पिलाइन् । १.

पर्सिपल्ट सुख्खा खोकी
खोक्दै हिंडिछन्
साथी भाइ इष्ट मित्र
भेट्दै हिंडिछन् । २.


केही दिनमा भेट्न गएँ
दिदी सुतेकी
पछ्यौरीले फनफनी
टाउको गुथेकी। ३.


के भो दिदी भन्दै गएँ
हात समाइन्
हनहनी ज्वरो थियो
आँसु चुहाइन्। ३.


छेउमै थियो रेडियो
खोलें समाचार
कोरोनाको कुरा गर्‍यो
त्यहाँ बारम्बार । ४.


डर लाग्यो मलाई पनि
लग्यौं अस्पताल
एक्लै बस्न भनेछन्
छैनन् देखभाल । ३.


सास फेर्न गाह्रो हुँदा
दिदी डराइन्
मेरो भाइ एक्लै नछोड्
भन्दै कराईन् । ४.


मेशिनले जाँचेपछि
कोभिड देखियो
छातीभरि निमोनिया
भन्ने लेखियो। ५.


मेरी दिदी मलाई छोडी
नजाऊ  न फेरि
पानी दिन्छु तताएर
बस्छु वरिपरि। ६.


रोगसँग लड तिमी
नडराईकन
दुखे दुखोस् शरीर त्यो
नदुखाऊ मन । ७.


उता आमा रोगी छन्
हाम्रै भर छन्
तिम्रै नाम जपेर
ऐले घर छन् ।८.


वल्लो कोठा दिदी रुँदै
पल्लो कोठा भाइ
यस्तो रोग कसैलाई
नलागोस् न है ।९.


मेरो पनि मेशिनले 
कोभिड हेरियो
धन्य रोग देखिएन
मुटु दरियो । १०


केही दिनमा निको भइन्
दिदी घर आइन् 
रोगसँग लड्न सक्ने
ठूलो भर पाइन् ।११.


स्याङ्जा
हाल- धोबीघाट,  ललितपुर

No comments:

Post a Comment