म त कुचोले बढार्न नमिलेको कसिङ्गर ।
जसलाई-
कहिले हावा लाग्ला र उडाउला भन्दै
मैले तिमीलाई,
मेरो आँखाको नानी बनाएर हुर्काएकी हुँ ।
तिमीले पो मलाई
अनायासै आँखामा परेको धुलोजस्तो सम्झन्छौ ।
तिमीले पो मलाई
साच्चै भुइँमा झरेको फूल हो जस्तो सम्झन्छौ ।
मैले तिमीलाई
कसरी खाइदिन्छौ भनेर फकाई फकाई-
तिमीलाई के मीठो हुन्छ भनेर पकाई पकाई खुवाउँथेँ ।
अनि तिमी अघाएको चाल पाएपछि म आफू भोकै अघाउँथेँ ।
आज मेरा यी ओठहरूले एक मुठी पानी मागिरहँदा,
तिमीलाई मेरो घाँटी भिजाइदिने रहरसम्म पनि छैन ।
आज मैले तिम्रै अघिल्तिर आफ्ना आँसुमा
तिम्रा वचन मिसाएर पिउनु परेको छ ।
आज मैले आफैले नचाहँदा नचाहँदै पनि,
यो जिन्दगी जिउनु परेको छ ।
हो- म त कुचोले बढार्न नमिलेको कसिङ्गर ।।
भन्छन् , दिनरात पानी परेपछि त
त्यो पहरो पनि पक्कै रसाउँछ ।
तर दिनरात यी आँखा रसाउँदा पनि
मैले आफ्नो छातीमा मुल फुटाएर हुर्काएको मेरो छोरा !
तिम्रो त्यो छातीभित्रको ढुङ्गो कहिल्यै रसाएन ।
छोरा ! म मरेको दिन
मेरो लासलाइ घारोमा बाँधेर घाट हिँडाउनुअघि,
अनि मेरो लासलाइ चितामा राखेर दागबत्ती दिने बेला,
तिमीले आफू चिन्त्तामा परेजस्तै गरी,
साँच्चै नमर्नु पर्ने तिम्री आमा मरेजस्तै गरी,
दुई थोपा आँसु अवश्य बगाइदिनू ।
मेरो छोरा ! दुई थोपा आँसु अवश्य बगाइदिनू
..... ।
..... ।
- रूपा गाउँपालिका-६, कास्की ।
No comments:
Post a Comment