लघुकथा - 'सर्टिफिकेटको मूल्य'
नानी बिबु
दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर
दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर |
गरिमा डिग्री पढ्दै गरेकी विद्यार्थी हो । फस्ट डिभिजनमा ब्याचलर पास गरेको सर्टिफिकेट उसको हातमा छ तर पनि उसले चाहेजस्तो जागिर पाउन सकिरहेकी छैन ।
उसले धेरै ठाउँमा जागिरको लागि आवेदन दिई । परीक्षा दिई । परिक्षा राम्रै हुन्थ्यो तर ऊ छनोटमा पर्दैनथी । तर पनि 'अझै मेरो मिहिनेत पुगेको रहेनछ' भन्दै चित्त बुझाउँथी र अझै मिहिनेतका साथ तयारीमा जुट्थी । किनकि उसलाई विश्वास थियो एक दिन मैले मेरो योग्यता र क्षमता अनुसारको जागिर अवश्य पाउनेछु ।
फेरि अर्को पटक उसले एउटा संस्थानमा जागिरका लागि आवेदन दिई र परिक्षा दिई। परीक्षा दिन जाँदा उसको ब्याचलर पढ्दाकी साथी प्रकृतिसँग भेट भयो । प्रकृति पनि उसकी प्रतिस्पर्धी बनेर परीक्षा दिन आएकी रहिछ । प्रकृति त्यति जान्ने थिइन । जेनतेन ब्याचलर पास मात्र गरेकी थिइ । प्रकृति र गरिमाको योग्यता र क्षमतामा थैरै नै फरक थियो । संस्थानको परीक्षा सकियो । केही समयपछि नतिजा आयो । प्रकृतिको नाम छनोटमा पर्यो तर गरिमाको परेन । यो नतिजाले गरिमालाई आश्चर्यचकित बनायो । उसले प्रकृतिलाई भेटेरै सोधी ' सर्वप्रथम त तिमीलाई बधाई छ प्रकृति । तिम्रो रिस गरेको त होइन तर एउटा कुरा सोध्न मन लाग्यो । साँच्चै भन्नुपर्दा तिम्रो र मेरो योग्यता र क्षमतामा धेरै फरक छ यो कुरा तिमीलाई पनि थाहा छ। आज तिमी छनोट भएर म छनोट नहुँदा अचम्म लाग्यो । यो कसरी भयो ?'
प्रत्युत्तरमा प्रकृतिले हाँसेर भनि 'हेर गरिमा यो परीक्षा भनेको त एउटा प्रक्रिया मात्र हो रहेछ । मेरो परीक्षा कहाँ राम्रो भएको थियो र ! संस्थानको हाकिम आफ्नो मान्छे हुनुहुन्थ्यो नि त ! उहाँले नै कर गरेर फाराम भर्न लगाएर परीक्षामा समावेश हुन लगाउनुभएको थियो र परीक्षा दिन आइदिएको मात्र हो । नाम निस्किहाल्यो ।'
प्रकृतिको उत्तरले गरिमालाइ एकाएक निराश बनाइदियो । उसलाई आफ्नो पढाइ र सर्टिफिकेट कुनै मूल्य नभएको महसुस भयो ।
No comments:
Post a Comment