लेखाइको शुद्धीकरणको परिचय र यसको आवश्यकता (लेख)
भाषाशिक्षण भनेको भाषाका बारेमा नभई भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ)का बारेमा गरिने शिक्षण हो । भाषाका चार सीपको लेखाइ सीप उत्तरवर्ती सीप हो । सुनाइ, बोलाइ, पढाइका तुलनामा यो अलि बढी जटिल पनि हुन्छ । देखेका, सुनेका, पढेका तथा अनुभव गरेका कुराहरूलाई लिपिबद्ध गरेर अभिव्यक्त गर्नु नै लेखाइ हो ।
विचार विनिमयका माध्यममध्ये एक बोलाइ हो भने अर्को लेखाइ हो । यो समय र स्थानको सीमामा बाँधिदैन । यो अनन्तसम्म रहिरहन्छ । शाश्वत र सार्वभौम हुन्छ । यो विचार विनिमयको माध्यम मात्र नभएर सम्झना र ज्ञान सञ्चय गर्ने भरपर्दो माध्यम पनि हो । हाम्रो समाजले पनि बकितम्लाई भन्दा लिखितम्लाई बढी विश्वास गरिने हुँदा लेखाइको महत्व धेरै भएको पुष्टि हुन्छ ।
विचार विनिमयका माध्यममध्ये एक बोलाइ हो भने अर्को लेखाइ हो । यो समय र स्थानको सीमामा बाँधिदैन । यो अनन्तसम्म रहिरहन्छ । शाश्वत र सार्वभौम हुन्छ । यो विचार विनिमयको माध्यम मात्र नभएर सम्झना र ज्ञान सञ्चय गर्ने भरपर्दो माध्यम पनि हो । हाम्रो समाजले पनि बकितम्लाई भन्दा लिखितम्लाई बढी विश्वास गरिने हुँदा लेखाइको महत्व धेरै भएको पुष्टि हुन्छ ।
पठन–पाठन, घरव्यवहार, व्यापार,व्यवसाय आदि विभिन्न क्षेत्रमा लेखाइको ठूलो महत्व रहन्छ । लिखित अभिव्यक्ति स्तरीय हुने व्यक्तिको व्यक्तित्व पनि माथि उठेको हुन्छ । यस्तो महत्वपूर्ण लेखाइ सीपमा व्यक्ति कमजोर भयो भने ऊ सबै पक्षमा कमजोर हन्छ । त्यसैले तल्ला कक्षादेखि नै विद्यार्थीहरूको लेखाइमा शुद्धता ल्याउने प्रयास गर्नुपर्दछ । माध्यमिक तहमा आइपुगेका विद्यार्थीहरूको पनि लिखित अभिव्यक्तिमा धेरै त्रुटिहरू देखिन्छन् । विद्यार्थीले वर्णविन्यासका साथसाथै भाषाको आधारभूत वाक्य–गठनमा पनि त्रुटि गर्दछन् । लिखित अभिव्यक्तिमा रहेका कमी– कमजोरी तथा कसरमसर हटाउनका लागि गरिने प्रयास नै लेखाइको शुद्धीकरण हो ।
लिखित अभिव्यक्तिसँग सम्बन्धित विभिन्न कार्यकलापमा विद्यार्थीहरूलाई संलग्न गराएर मात्र उनीहरूको अभिव्यक्तिमा रहेका त्रुटिहरू निराकरण हुन सक्दैनन् । यसका लागि लेखाइ शुद्धीकरण नै गर्नुपर्ने हुन्छ । सामान्यतया शिक्षकहरूले विद्यार्थीले लेखेको कपी हेर्छन् र ठिक भयो भएन प्रतिक्रिया दिन्छन् । कि त कपीभरिको ठिक चिहन दिन्छन् कि त बेठिक चिन्ह दिन्छन् । गल्ती देखाएर, गल्ती भयो भनेर मात्र विद्यार्थीको लेखाइमा शुद्धता आउँदैन यसका लागि बोर्डमा वा उनीहरूको कापीमानै शुद्धरूप लेखिदिनुपर्दछ । विद्यार्थीहरूले गर्ने त्रुटि सामान्य वा विशेष क्षेत्रका के–कस्ता छन् सो पत्ता लगाएर निराकराणात्मक शिक्षण गर्नुपर्दछ । विद्यार्थीहरूलाई आफ्ना समस्या सुल्झाउने उपाय समेत बताइदिनु पर्दछ ।
अर्कोकुरा लेखाइको प्रयोजन र विद्यार्थीहरूको स्तरलाई ख्याल गरेर त्रुटिलाई प्राथमिकता दिनु पर्दछ । स्वतन्त्र तथा सिर्जनात्मक लेखन (निबन्ध,कथा,कविता, नाटक, जीवनी लेखन आदि) का क्रममा वर्णविन्यास र वाक्य गठनगत त्रुटिलाई गौण मान्नु पर्दछ ।अतः रचना शिक्षणका क्रममा शुद्धीकरण भन्नाले उक्त रचनामा फेला परेका वर्णविन्यास तथा वाक्य गठनसम्बन्धी त्रुटिहरूको शुद्धीकरण नभई तत्–तत् रचना अनुकूल प्रस्तुतीकरणको ढङ्गढाँचा, विचारको सिलसिलाबद्धता अनुच्छेद गठन,किनारा छोडाइ आदिलाई मुख्यमानी सोहीअनुरूपको शुद्धीकरणमा शिक्षक केन्द्रित हुनुपर्दछ ।अतः लेखाइ क्रियाकलापको प्रयोजन अनुरूपको शुद्धीकरणमा जोड दिनु पर्दछ । शिक्षकले विशेष गरी शुद्धीकरणका लागि निम्नलिखित उपाय वा तरिकाअपनाएर शिक्षण गरेमा विद्यार्थीहरूको लेखाइमा शुद्धता ल्याउन सकिन्छ ः
१. अङ्क दिने
शिक्षकले विद्यार्थीहरूको लेखाइलाई स्तर निर्धारण गरी अङ्क दिन सकिन्छ। अङ्क दिँदा विद्यार्थीहरूमा मैले यति अङ्क पाएँ,तैले कति पाइस् भन्दै एक–आपसमा प्रतिस्पर्धाको भावना सिर्जना हुन जान्छ । धेरै अङ्क प्राप्त गर्नेलाई तत्कालै हौसला मिल्छ र अझ राम्रो गर्ने कोसिस गर्दछ । धेरै अङ्क ल्याउँछु भन्दै प्रयत्न गर्दछ । यसबाट लेखाइमा शुद्धता आउँछ ।
२. गल्ती निर्देश गरिदिने
शिक्षकले विद्यार्थीहरूको लिखित अभिव्यक्तिहरूलाई कहाँ–कहाँ के–कस्तो गल्ती छ फरक मसीले औँल्याई उनीहरूलाई शुद्ध लेख्नमा प्रेरित गर्नुपर्दछ । गल्ती भएकै ठाउँमा गल्ती औँल्याइदिनाले उनीहरूले पनि सोधेर खोजेर भए पनि शुद्ध लेखनमा प्रयत्न गर्दछन् ।
३. सच्याइदिने
लिखित अभिव्यक्तिमा हुने कतिपय त्रुटिहरू विद्यार्थीहरू आफैले सच्याउन नसक्ने किसिमका पनि हुन्छन् । यस्ता त्रुटिहरू विद्यार्थीहरूको सामु उनीहरूको कापीमा नै सच्याइदिनु पर्दछ । प्रत्येक विद्यार्थीहरूको कापीमा नै सच्याइदिँदा समय भने धेरै लाग्न सक्छ ।
४. कक्षामा छलफल वा प्रश्नोत्तरका माध्यमले सच्याइदिने
विद्यार्थीहरूले गरेका त्रुटिको अध्ययनपश्चात् त्रुटिको प्रकृतिअनुसार कक्षामा छलफल वा प्रश्नोत्तर गराएर विद्यार्थीहरूबाट नै शुद्धरूपको खोजी गर्नलगाई उनीहरूको लेखाइमा शुद्धता ल्याउन सकिन्छ ।
५. सामूहिक रूपमा टिप्पणी गरिदिने
सधैँ प्रत्येक विद्यार्थीको कापी हेरेर सच्याइदिन सकिँदैन कहिलेकाहीँ सबैखाले विद्यार्थीहरूको प्रतिनिधित्व हुनेगरी उनीहरूले लेखेको लिखित अभिव्यक्ति हेर्ने र सामूहिक रूपमा टिप्पणी गरिदिने पनि गर्नुपर्दछ । ५,७ जना विद्यार्थीको उत्तरलाई हेरेपछि उनीहरूले गरेको गल्तीको प्रकृति छुट्टिन्छ र त्यसैअनुसार समग्रतामा त्रुटि सच्याउन निर्देशन गरिदिनु पर्दछ ।
६. बोर्डमा लेखेर देखाउने
विद्यार्थीहरूले गर्ने त्रुटिहरू ठम्याइसकेपछि शुद्ध रूपमा बोर्डमा लेखेर देखाउनु पर्दछ । प्रत्येक विद्यार्थीहरूको कापीमा सच्याउन समय पुग्दैन तर बोर्डमा भने लेख्न सकिन्छ ।
७. हिज्जे प्रतियोगिता गराउने
शुद्ध लेखाइको विकासको लागि विद्यार्थीहरूमा हिज्जे प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । स्वस्थ प्रतिस्पर्धाको भावनाले विद्यार्थीहरूलाई सिकाइमा थप प्रेरणा समेत मिल्दछ ।
निष्कर्ष
छोटो समयमा विद्यार्थीहरूको लिखित अभिव्यक्तिमा शुद्धता ल्याउन नसकिएला तर अलि लामो समयसम्म निरन्तर प्रयास गर्ने हो भने त्यो पक्कै पनि सम्भव छ । हरहमेसा शुद्ध लेख्न सचेत बनाइरहने,हौसला प्रदान गरिरहने, सुरुमा छोटा–छोटा वाक्य रचना गर्न लगाउने जस्ता कार्यले विद्यार्थीहरूको लेखाइको स्तरमा परिवर्तन ल्याउन सकिन्छ । रुखो व्यवहारमा होइन मायालु वातावरणमा सिकाऔँ विद्यार्थीहरूले छिटो सिक्ने छन् ।
सन्दर्भ ग्रन्थ सूची
१) अधिकारी, हेमाङ्गराजः नेपाली भाषा शिक्षण, (२०६८) विद्यार्थी पुस्तक भण्डार, काठमाडौँ
२) अधिकारी, हेमाङ्गराजः भाषा शिक्षण परिप्रेक्ष्य तथा पद्धति, चौथो संस्करण (२०४६) विद्यार्थी पुस्तक भण्डार, काठमाडौँ
३) आचार्य बाबुरामः नेपाली शिक्षाको इतिहास (२०१४) वर्ष १, अङ्क ४८
४) ढकाल, शान्तिप्रसादः नेपाली भाषा शिक्षणः परिचय र प्रयोग (२०७०), शुभकामना बुक्स एन्ड स्टेसनरी, ताहाचल, काठमाडौँ
५) ढुङ्गेल, भोजराज र दुर्गाप्रसाद दाहालः परिचयात्मक नेपाली भाषा शिक्षण (२०५९), एम.के. पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स, भोटाहिटी, काठमाडौँ
६) शर्मा केदारप्रसाद र माधवप्रसाद पौडेल, नेपाली भाषा र साहित्य शिक्षण (२०६०), न्यू हीरा बुक्स इन्टरप्राइजेज, कीर्तिपुर, काठमाडौँ
साभार — ईशानेश्वर क्याम्पस स्मारिका –२०७५
साभार — ईशानेश्वर क्याम्पस स्मारिका –२०७५
आहा ! एकदम ज्ञानबर्धक !
ReplyDeleteहजुर सर !
Delete