खुत्रुकेको पैसा (बालकविता)
– रमेशचन्द्र घिमिरे
यति राम्रो खुत्रुकेमा कति स्यानो दुलो
पैसा राख्न सजिलो छ स्वाट्टै भित्र पस्छ
घोप्ट्याउँदा नि खस्ने होइन भित्रै मात्र बस्छ
रहर गरी पैसा राख्यो अहिले भइयो फुस्सै
पैसा चाहिँदा नपाएर भएको छु ठुस्सै ।
खुत्रुकेमा पैसा खस्दा मलाई यस्तो हुन्छ
ढडियामा सहर माछा परे जस्तो हुन्छ
खसेपछि खस्यो खस्यो निस्किन छ गाह्रो
थोरै थोरै निस्के हुन्थ्यो गर्थेंं बरु फारो ।
गाह्रो पर्दा घोप्ट्याएर झिकूँ भने पनि
पैसा झिक्न नपाएर छट्पटिन्छु अनि
अल्लि पुवाल ठुलो पार्छु खाँचो पर्न सक्छ
घोप्ट्याउँदा खुसुखुसु पैसा झर्न सक्छ ।
विचार गर्छु जे जे पर्ला सानो काँटी घोची
चाहिए बेला थोरै पैसा झिक्छु भन्ने सोची
सकिएन कोट्याउन बल गर्दा पनि
आखिर सोच बदलियो हम्मर लिन्छु भनी ।
च्यापी त्यही सानो काँटी हातमा लिएँ पैले
हम्मर लिई प्याट्ट पार्ने विचार गरेँ मैले
भनेजस्तो काँ भयो र खुत्रुके नै फुट्यो
उता बालाई शङ्का भयो “कस्ले कस्लाई कुट्यो ?”
पैसा थाप्ने सुर थियो अड्कलेर हातमा
सबै पैसा पोखिएर छिरलियो खाटमा
आत्तिएर बा आउनु भो “किन ड्याङ्ग भयो ?”
आफ्नो भने डराएर झन्नै सातो गयो ।
“बरु पैसा जोगाउन लागे भए हुन्थ्यो
दिन्थेँ पैसा थोरै थोरै मागे भए हुन्थ्यो
अब यसो नगर्नू है” भन्नुभयो बाले
“गल्ती भयो बाबा” भनी कान समाइहालेँ ।
चाहिने मात्रै खर्च गर्ने बानी बसाल्छु म
नभरिन्जेल खुत्रुकेमा पैसा खसाल्छु म ।
– भोर्लेटार, लमजुङ
No comments:
Post a Comment