ढिकी जाँतोको बेदना
रमेशचन्द्र घिमिरे
ढिकी : जाँतो बैनी तिमीलाई के छ कस्तो छ ?
घ्वाइँ-घ्वाइँ घुम्न अचेल छोडेजस्तो छ
जाँतो : ढिकी दिदी हजुरलाई के छ कस्तो छ ?
भक्य्राइँ ट्याइँ गर्न अचेल छोडेजस्तो छ
ढिकी : अचेल हेर गाउँमा मिसिन आ’को छ
मलाई वास्ता गर्दैनन् दुःख ला’को छ
जाँतो : गहुँ मकै पिन्न मान्छे अन्तै गा’का छन्
जैलेदेखि हाम्रो गाउँमा घट्ट ल्या’का छन्
ढिकी : मुसल पनि उखेले थोते बनाए
मलाई यिनले रुवाए आफू रमाए
जाँतो : म’नि थोते भा’की छु हातो उक्काए
डोको राखी ममाथि मैलाई लुकाए
ढिकी : लिपपोत पनि गरेनन् हिलो बनाए
भकारोमा भैंसी बाध्ने किलो बनाए
जाँतो : काम लागुन्जेल थिएँ म फूलको थुङ्गोझैँ
अहिलेचाहिँ ठेलाे हान्ने भा´छु ढुङ्गोझैँ
ढिकी : मुढोजस्तै पल्टेर सुत्छु लेउमा
रोई–रोई बसिछु आँगन छेउमा
जाँतो : स्याहार सुसार नपा’र एक्ली हुँदैछु
कुना कुर्दै पिँढीको म’नि रुँदैछु ।
-भोर्लेटार, लमजुङ (२०७५/०५/१५)
No comments:
Post a Comment