कृष्णशरण उपाध्याय |
नयाँ वर्ष आयो (गीत )
आयो आयो , लौ नयाँ वर्ष आयोनौलो आशा , नौ मुरी हर्ष आयो
मौरी बन्दै , काम उत्पात गर्न
बत्ती बन्दै , देश को रात हर्न
ऊर्जारूपी , जिन्दगी सर्सरायो
आयो आयो , लौ नयाँ वर्ष आयो
साना बेर्ना , बढ्दछन् अग्लिइन्छन्
खोला नाला , बग्दछन् सङ्लिइन्छन्
प्राणै फेर्ने , कर्म - सङ्घर्ष आयो
नौलो आशा , नौ मुरी हर्ष आयो
यो माटो मा , भाइचारा जगाई
कालो मैलो , दोष सारा बगाई
धर्ती बोक्ने , काल दुर्धर्ष आयो
आयो आयो , लौ नयाँ वर्ष आयो
हाँसी गाई , पञ्च - बाजा बजाई
मेची काली , देश साझा सजाई
नाच्दै झुम्दै , प्रेम को स्पर्श आयो
आयो आयो , लौ नयाँ वर्ष आयो
आयो आयो , लौ नयाँ वर्ष आयो
नौलो आशा , नौ मुरी हर्ष आयो
छन्द : शालिनी
No comments:
Post a Comment