कृति समीक्षा
सूर्यप्रसाद लाकोजूको ‘फूलैफूल बालकवितासङ्ग्रह’
– रमेशचन्द्र घिमिरे
बालसाहित्य भनेको एकातिर बालबालिकाहरूको स्वहस्तबाट लेखिएको काँचो विचार हो भने अर्कोतिर प्रौढ साहित्यकारहरूद्वारा बाल मनस्थिति छाम्ने गरी लेखिएको कलिलो खुराक पनि हो । बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालकविता पनि एक महत्वपूर्ण विधा हो ।
बालकविता भन्नाले पद्यात्मक वा लयात्मक हिसाबले बालबालिकाहरूको भाषामा लेखिएर उनीहरूले नै गाउने वा पढ्ने उद्देश्यले रचिएका कविता भन्ने बुझिन्छ ।
बालकविता भनेको बालकका लागि प्रौढहरूद्वारा सिर्जित र बालक स्वयम्द्वारा सिर्जित रचना पनि हो । नेपाली बालकविताले वि.सं. १९५८ देखि हालसम्मको दीर्घ परम्परा बोकेको छ । अहिले बजारमा आएका थुप्रै बालकवितासङ्ग्रहहरूको भिडमा ‘फूलैफूल बालकवितासङ्ग्रह’ लिएर साहित्यकार सूर्यप्रसाद लाकोजू देखा परेका छन् । उनको यसै सङ्ग्रहको समीक्षा गर्ने प्रयास यहाँ गरिएको छ ।
बालकविता भन्नाले पद्यात्मक वा लयात्मक हिसाबले बालबालिकाहरूको भाषामा लेखिएर उनीहरूले नै गाउने वा पढ्ने उद्देश्यले रचिएका कविता भन्ने बुझिन्छ ।
बालकविता भनेको बालकका लागि प्रौढहरूद्वारा सिर्जित र बालक स्वयम्द्वारा सिर्जित रचना पनि हो । नेपाली बालकविताले वि.सं. १९५८ देखि हालसम्मको दीर्घ परम्परा बोकेको छ । अहिले बजारमा आएका थुप्रै बालकवितासङ्ग्रहहरूको भिडमा ‘फूलैफूल बालकवितासङ्ग्रह’ लिएर साहित्यकार सूर्यप्रसाद लाकोजू देखा परेका छन् । उनको यसै सङ्ग्रहको समीक्षा गर्ने प्रयास यहाँ गरिएको छ ।
बालसाहित्यकी अनुरागी अमिना श्रेष्ठको प्रकाशनमा २०७५ चैत्रदेखि बजारमा आएको ‘फूलैफूल बालकवितासङ्ग्रह’ भित्र लामा छोटा गरी १६ वटा बालकविताहरू सङ्गृहीत छन् । कभर पृष्ठबाहेक जम्माजम्मी भित्री २४ पृष्ठमध्ये १८ वटा पृष्ठमा कवि लाकोजूका बालकविताहरू अटाएका छन् भने यसको मूल्य रु. १२०÷– निर्धारण गरिएको छ । यसमा मञ्जु स्याउलाको चित्ताकर्षक कला रहेको छ । कविताको भाव सुहाउँदो चित्र संयोजनले कवितासङ्ग्रहको सजावट अझ सुन्दर देखिएको छ । कवितामा प्रकृतिप्रेम, राष्ट्रियता, नेपाली चाडपर्व, नेपाली संस्कृति, प्राकृतिक प्राणी, बाल व्यवहार, औपदेशिकता, कल्पनाशीलता, बालोपयोगी सन्दर्भ, प्राचीन बाजा, मानवीय व्यवहार, पारिवारिक नातासम्बन्ध, ऋतुगान, बालपात्र आदिलाई विषयवस्तु बनाइएको छ । यसमा रहेका कविताहरूमध्ये प्रायः कविताले बालकमा हुने कर्तव्यबोधी चेतनाको उजागर गराएका छन् भने संस्कृति संरक्षण, बालसुलभ कोमल भावनात्मक अभिव्यक्ति जस्ता पक्षमा पनि ध्यान दिएका छन् ।
सङ्ग्रहमा रहेका विभिन्न कविताहरूमध्ये ‘मेरो नेपाल आमा’ कवितामा प्रकृतिलाई उपमान र आफ्नो देशलाई उपमेय मान्दै राष्ट्रियताको भाव ओतप्रोत भएको छ । कवितामा भनिएको छ ः
‘धरतीकी रानी जस्ती
नेपाल आमा हाम्री
संसारमा यिनीभन्दा
अरु छन् र राम्री ?’
(मेरी नेपाल आमा, पृ. १)
नेपाली चाडपर्व र संस्कृतिको महत्व झल्काउने क्रममा कविले ‘रमाइलो तिहार’ कवितामा तिहारमा हुने पाँचवटै दिनका विशेषताहरूलाई अघि सारेका छन् र मानवीय प्रेमको सन्देशसमेत दिन खोजेका छन् । ‘मेरो पप्पी’ कवितामा प्राकृतिक प्राणी कुकुरलाई घरायसी साथी र इमान्दार प्राणीका रूपमा कविले स्वीकारेका छन् । ‘मन पर्छ’ कवितामा असल काम गर्न र राम्रो बानीको अनुसरण गर्न प्रेरित गर्दै परोपकारी हुने सल्लाह यसरी दिइएको छ ः
‘राम्रो लाग्छ घाम मलाई
राम्रै लाग्छ पानी
त्योभन्दा नि राम्रो लाग्छ
परोपकार गर्ने बानी’
(मन पर्छ, पृ. ४)
‘स्वदेश नै राम्रो’ कवितामा आफ्नै देशमा कर्म गरेर देशलाई सिँगार्नुपर्छ भन्दै वैदेशिक रोजगारीका लागि जानेहरूले स्वाभिमान जोगाउन नसकेको र अपहेलित एवम् अपमानित हुनुपरेकोमा कविले चिन्ता व्यक्त गरेका छन् । ‘मेरो घडी’ कवितामा समयको सदुपयोग गर्नुपर्छ भन्ने कुराको सङ्केत गरिएको छ भने ‘यलम्वर हो नाम’ कवितामा नेपालका प्राचीन बाजाहरू लोप हुँदै गएकोमा दुखेसो पोख्दै यस्ता प्राचीन आर्जित सम्पत्तिका रूपमा रहेका बाजाहरूको संरक्षण गर्नुपर्छ भन्ने कुरालाई महत्व दिइएको छ साथै भूमिका खण्डमा पनि कविले यसलाई अझ राम्ररी परिचित गराएका छन् । आधुनिक बाजा आएपछि पुराना बाजाहरू विस्थापित हुँदै गएकोमा कविको गुनासो यस्तो रहेको छ ः
‘उनकै नामबाट मेरो
भयो नामाकरण
आधुनिक बाजा आएपछि
हुँदैछु म हरण’
(यलम्बर हो नाम, पृ. ७)
‘मेरो पुस्तक’ कवितामा पुस्तकको महिमागान गाउँदै पुस्तक पढ्न पाएर आफू भाग्यमानी हुन सकेको भन्दै कवि गर्वले उचालिएका छन् । कस्तो–कस्तो काम वा व्यवहारले मान्छे राम्रो र नराम्रो हुन्छ भन्ने विचार ‘मान्छे झनै राम्रो’ कवितामा अभिव्यक्त भएको छ । ‘मेरो छोरा’ कवितामा कविको बाल मन नभई बालभाषाको प्रयोगमा प्रौढ पन झल्किएको देख्न सकिन्छ । ‘मेरो इच्छा’ कवितामा बुद्धको प्रेरणा र आशीर्वाद पाएर लगनशील भई पढ्ने र राम्रो मान्छे बन्ने रहर कविको बाल हृदयमा झल्किएको छ । यस कवितामा कविले गरेको इच्छा यस्तो छ ः
‘मानिसको जुनीलाई
मायाले भर्न सकूँ म
हिमाल, पहाड, तराईमा
उज्यालो छर्न सकूँ म’
(मेरो इच्छा, पृ. ११)
‘केको समूह के हुन्छ ?’ कवितामा कविले समूहवाचक नामशब्दका प्रशस्त उदाहरण दिएका छन् भने ‘सानो घोडा’ कवितामा प्रकृतिको मानवीकरण गर्दै घोडाप्रति वात्सल्य भाव व्यक्त गरेका छन् । त्यस्तै गरेर ‘मेरो दादा’ कवितामा दाजुबाट स्नेह पाएर रमाएकी बहिनीको मीठो र सुकोमल दैनन्दिनी प्रस्तुत गरिएको छ । ‘वर्षायाम’ कवितामा वर्षा ऋतुमा हुने प्रकृतिको जीवन्त चित्रण गर्दै बाल्य अनुभव र कल्पनाशीलताले सिँगारिएको छ । ‘हामी साना छौँ’ कवितामा बालपात्रलाई उभ्याउँदै कविले बालोपयोगी सन्दर्भ र बालसुलभ भावनाको अभिव्यक्ति प्रस्तुत गर्दै बालकले गर्नुपर्ने दायित्वबोधलाई औँल्याउँदै यसो भनेका छन् ः
‘हात पनि सानो छ
काँध पनि छ सानो
ठूलो भएपछि हामीले
बनाउँछौँ देशको छानो’
(हामी साना छौँ, पृ. १८)
यसमा सङ्कलित बालकविताहरू बालककै भाषामा रमाएर पढ्न मिल्ने खालका छन् । कतैकतै अन्त्यानुप्रासमा विचलन, अक्षर संरचनामा क्रमभङ्गता, औपदेशिकताको थिचाइ, लयात्मकताको अभाव, प्रौढ अभिव्यक्तिको झल्को जस्ता झिना–मसिना कमी–कमजोरी देखिए पनि समग्रमा भन्दा बालसाहित्यको क्षेत्रमा एउटा नवीनतम प्राप्ति र उपलब्धिका रूपमा यस कवितासङ्ग्रहको उच्च मूल्याङ्कन गर्न सकिन्छ ।
– क्याम्पस प्रमुख, ईशानेश्वर क्याम्पस भोर्लेटार लमजुङ
No comments:
Post a Comment