अतिथिलाई निम्तो कविता - रचना चौतारी

Breaking

Powered By Blogger

August 02, 2018

अतिथिलाई निम्तो कविता

कविता  अतिथिलाई निम्तो  (छन्द : मन्दाक्रान्ता)
रमेशचन्द्र घिमिरे 

बस्छन् अग्ला हिमशिखर ती श्वेत टोपी भिरेर
मेची–काली अविरल यतै बग्छ छाती चिरेर ।।
बस्छन् शम्भु पशुपति ठूला बाग्मतीका तटैमा
बस्छिन् सीता जनकपुरको भव्य राम्रो मठैमा ।।१।।

सल्ला–सिसौ हरित वनले ढाकिएका यतै छन्
अग्लाअग्ला सिमल रूख छन् सालका वृक्ष यैँ छन् ।।
याहीँ हाम्रो धवलगिरिको उच्च शृङ्गार देख्छौ
देख्छौ चाक्ला समथर भूमि फाँट या टार देख्छौ ।।२।।

नेपालीका घर–दलिनमा खोपिएका कला छन्
मीठो भाका मधुर लयमा गुन्जिने ह्यैँ गला छन् ।।
देख्छौ देवालय, मठ अनि पाटिपौवा अनेक
आई याहाँ अब नजरले हेर है एक–एक ।।३।।

यै ठाउँमा अनलमय त्यो घामको धूप चर्को
याहीँ ठण्डी शितल र चिसो हुस्सुको श्वेत बर्को ।।
छक्कै पार्ने विविध रूप छन् काहीँ गर्मी छ जाडो
काहीँ होचा जमिनहरू छन् काहीँ तेर्सो र ठाडो ।।४।।

खुम्बू जाऊ ठुगठुग गरी शीत चाखेर आऊ
चाहे होचो भूमितिर गई घाम तापेर आऊ ।।
स्याङ्जा आऊ, लमजुङ तथा पोखरा टेक्न आऊ
झापा आऊ, सुनसरी अनि लुम्बिनी देख्न आऊ ।।५।।

कञ्चनजङ्घा मुकुट पहिरी हाँस्छ नेपाल हाम्रो
डाँफे–मैना चरीहरूसँगै नाच्छ नेपाल हाम्रो ।।
मौका छोपी तिमी पनि यतै नाच लौ गीत गाऊ
यै माटामा मधुर रसिलो प्रीत सङ्लो खन्याऊ ।।६।।

भाका हाली सरस लयमा डाक्छ क्वैली चरीले
खोज्छन् तिम्रा पदहरू यतै अप्सराले परीले ।।
यस्तो राम्रो प्रकृति तलमा शीघ्र यात्रा बढाऊ
आऊ–आऊ अतिथि जन हो देश यो घुम्न आऊ ।।७।।

             - भोर्लेटार, लमजुङ ।

No comments:

Post a Comment